१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सशस्त्र द्वन्द्वमा मारिने १८,०७६

कसले लिन्छ १,०७६ जनाको जिम्मा?

अहिले सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन्। तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख भएका उनले ‘जनयुद्ध दिवस’ मनाउन कोहीकसैले नरोक्ने बताउँदै आएका छन्। सोमबार पनि उनले पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देशभर सो दिवस मनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए।

‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो। अस्ति भर्खरै शान्तिप्रक्रिया नटुंगिएकाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्‍यो। हामी अदालतको निर्णयलाई शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं। जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन। देशभरि भोलि (मंगलबार) जनयुद्ध दिवस मनाइन्छ,’ सोमबार दाहालले भनेका थिए। उनले फागुन १ गते काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै ‘जनयुद्ध’ दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताएका थिए।

सशस्त्र द्वन्द्व सुरु गरेदेखि नै फागुन १ गते माओवादीले यो दिवस मनाउँदै आएको छ। गत वर्ष राजनीतिक अवस्थामा केही असन्तुलन देखिएका बेला सरकारका तर्फबाट दाहालले फागुन १ मा सार्वजनिक बिदा घोषणा गराए। सरकारको वार्षिक क्यालेन्डरमा ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा नै उल्लेख गरियो। तर त्यसलाई सर्वोच्च अदालतले खारेज गरेपछि एक दिनको सार्वजनिक बिदा काटिएको छ। तर त्यही सशस्त्र द्वन्द्वका क्रममा कति व्यक्ति मारिएका थिए भन्ने तथ्यांकगत अन्योल भने कायमै छ। 

१० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको ‘सुप्रिम कमान्डर’ रहेका दाहालमाथि बारम्बार १७ हजार मान्छे मारेर आएको भन्ने आरोप लाग्ने गर्छ। तर उनले यसलाई हो पनि भन्न सकेका छैनन्, होइन भनेका पनि छैनन्। तर यकिन तथ्यांक भने दाहाल नेतृत्वको सरकारले अहिलेसम्म बाहिर सार्वजनिक गरेको छैन। 

२०६२/६३ को जनआन्दोलन सफल भएसँगै २०६४, २०७०, २०७४ र २०७९ सालमा आम निर्वाचन सम्पन्न भए। ती निर्वाचनबाट आएको परिणाम र सशस्त्र द्वन्द्वको बलले दाहाललाई तेस्रो पटक प्रधानमन्त्री बनायो। तत्कालीन अवस्थामा माओवादीकै दोस्रो वरीयतामा रहेका अर्का नेता डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए।

१६ वर्षको अवधिमा थोरै समय मात्रै माओवादी सरकारबाहिर रह्यो नत्र च्याँखे थापेर भए पनि सरकारमा रहिआएकै छ।

तर जनयुद्धको बेलामा कति मानिसको मृत्यु भएको थियो भन्ने तथ्यांक बाहिर ल्याउनचाहिँ सकेको थिएन। यसपटक भने सशस्त्र द्वन्द्वमा मारिएकाको संख्या यकिन हुने गरी तथ्यांक तयार पारिएको छ। प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालय दुवैको संयोजनमा यो कार्य भएको हो। जसअनुसार जनयुद्धमा मारिएका नागरिक १८ हजार ७६ जना छन्। त्यस्तै बेपत्ता भएकाको संख्या १ हजार ७३० छ। 

घाइते तथा अपांगता भएकाहरू १६ हजार ६४६ जना छन्। साथै ऐतिहासिक जनआन्दोलनमा घाइते भएकाको संख्या भने ३० छ। प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले दिएको विवरणअनुसार सशस्त्र द्वन्द्वमा मारिएका तथा घाइते भएकाको लगत संकलन गर्ने एउटा समिति बनेको थियो। सो समितिले दिएको प्रतिवेदनका आधारमा अहिले नयाँ संख्या निर्धारण भएको हो। ‘यो विवरण बाहिर आएको छैन तर प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा यसको विवरण पठाइसकेको छ,’ स्रोतले भन्यो।

तेस्रो पटक प्रधानमन्त्री भइसकेका दाहाललाई हालसम्म १७ हजार मान्छे मारेको आरोपले पछ्याइरहेकै छ। गत वर्ष २०७९ माघ १ गते टुँडिखेलमा आयोजित माघी महोत्सवमा प्रधानमन्त्रीका रूपमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दा १७ हजारमा ५ हजारको जिम्मा लिने बताएका थिए। उनीभन्दा अगाडि बोल्ने कोही वक्ताले १७ हजारको हत्या गरेर सत्तामा आएको बताएपछि उनले बाध्य भएर ५ हजारको जिम्मा लिने भन्दै भाषण गरेका थिए। त्यसबेला सम्बोधनको सुरुमै उनले तथ्यांक सच्याउन आग्रह गर्दै ‘५ हजारको जिम्मा लिन्छु, १२ हजार अरूले नै मारेका हुन्’ भनेका थिए। 

‘मलाई १७ हजार मारेर आएको भन्ने गरिन्छ। यो सत्य होइन,’ उनले भनेका थिए, ‘मलाई ताकेर धेरैले यस्तो कुरा राख्नुभएको छ। मलाई धेरै साथीले बाहिर पनि त्यस्तो भन्नुहुन्छ। म त्यसको तथ्यांक सच्याउन चाहन्छु। १७ हजार मारेर आएको भन्ने सत्य होइन। सत्य के हो भन्न दिनुस्। हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु। तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन।’

अहिले माओवादी सरकारले त्यसबेला युद्धमा मारिएकाहरूको नयाँ तथ्यांक तयार पारेको छ। अब सार्वजनिक हुने तथ्यांकअनुसार १ हजार ७६ को जिम्मा कसले लिने भन्ने प्रश्न उठेको छ।

प्रकाशित: १ फाल्गुन २०८० ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App