१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाकिस्तानी निर्वाचनमा सेनाको पराजय !

पाकिस्तानको सबैभन्दा लोकप्रिय पार्टी पाकिस्तान तेहरीक ए इन्साफ (पिटिआई) र सोही दलका नेता  ७१ वर्षीय नेता इमरान खानलाई चुनावमा भाग लिनबाट वञ्चित गरेपछि बिहीबार (फेब्रुअरी ८ मा) सम्पन्न संसदीय निर्वाचन दुई ध्रुवीय हुने अपेक्षा धेरैले गरेका थिए।

पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–एन (पिएमएल–एन) ले सबैभन्दा बढी संसदीय सिट हात पार्ने विश्लेषण देशीविदेशीको थियो। त्यसका बाबजुद पिटिआईनिकट स्वतन्त्र सांसदहरूले हालसम्मको निर्वाचन गणनामा ९३ स्थानमा जितेर प्रथम भई सबैलाई जिल्याइदिएको छ। अन्य सात जना स्वतन्त्रले पनि जित हासिल गरेका छन्।

७२ स्थानमा जित हासिल गरेर नवाजको पार्टी दोस्रो भएको छ भने बेनजिर भुट्टोका छोरा बिलावलले नेतृत्व गरेको पार्टी पाकिस्तान पिपुल्स पार्टी ५४ स्थानमा जितेर तेस्रो बनेको छ। यो समाचार तयार पारुन्जेल १३ स्थानको गणना बाँकी छ।

पाकिस्तानको संसद्मा प्रत्यक्ष निर्वाचनबाट २६६ प्रतिनिधि चुनिन्छन्। त्यहाँ बहुमतको सरकार बनाउन १३४ सांसद चाहिन्छ। पिटिआईका प्रमुख पूर्वक्रिकेटर इमरान खानलगायत उनको पार्टीका अधिकांश वरिष्ठ नेता जेलमा छन्।

जेलबाहिर रहेकालाई पनि विभिन्न आरोप लगाइएको छ। उनीहरूले भूमिगत रूपमा चुनाव प्रचार गरिरहेका थिए। पाकिस्तानी निर्वाचन आयोगले खानको पार्टीलाई चुनाव लड्न अयोग्य घोषित गर्दै चुनाव चिह्न खोसेको थियो। यसको प्रतिकारस्वरूप पिटिआईले देशभरि नै स्वतन्त्र उम्मेदवार उठाएको थियो।

निर्वाचन परिणामहरू आउन थालेपछि बहुमतको सरकार बनाउन आफू अक्षम भएको भन्दै नवाजको पार्टीले सहयोगी पार्टीहरूको साथ खोजिरहेको छ।

२५ करोड ६० लाख जनसंख्या रहेको पाकिस्तानमा अस्थिरता र ध्रुवीय राजनीति बढिरहेको भन्दै सेनाले एउटा विश्वासिलो र सबैलाई समेट्ने नेतृत्वको अपेक्षा गरेको जनाएको छ। धेरैले यो चुनावलाई सेनाप्रतिको अविश्वासका रूपमा लिइरहेका छन्।

लोकप्रिय नेता खानलाई विभिन्न आरोपमा जेल हालेपछि सर्वसाधारणमा असन्तोष बढेको र निर्वाचनमार्फत सोही असन्तुष्टि पोखिएको विश्लेषकहरूको धारणा छ। पछिल्लो निर्वाचन परिणाम कुनै पनि विश्लेषकहरूले अपेक्षा गरेका थिएनन्।

सन् २०२२ मा सेनाले जबर्जस्ती खानलाई सत्ताच्युत गरेको थियो। त्यसपछि देशव्यापी प्रदर्शन भएका थिए भने त्यसको जवाफमा पाकिस्तानको कामचलाउ सरकारले व्यापक धरपकड, पक्राउ अभियान चलाएको थियो। पिटिआईका कैयौं उम्मेदवार भूमिगत छन्।

पाकिस्तानको इतिहासमा यति धेरै स्वतन्त्र उम्मेदवारले जितेको यो पहिलो संसद् हुनेछ। तीन दिनभित्र स्वतन्त्रहरूले कुनै पार्टीमा आफूलाई सामेल गर्नुपर्ने हुन्छ। उनीहरूले दल प्रवेश नगरे के हुन्छ भन्ने प्रश्न यतिबेला उठिरहेको छ। 

पाकिस्तानमा सरकार बनाउन नवाज पार्टी र पिपिपीले अन्य साना दलहरूसँग मिलेर सरकार बनाउने सम्भावना देखिएको छ। यस्तोमा कतिपय स्वतन्त्र सांसदहरूले ती दुई पार्टी प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ। खासगरी पिटिआईको समर्थन नभएका एक दर्जन सांसद अन्य पार्टी प्रवेश गर्ने सम्भावना रहेको बताइन्छ।

यसैगरी पिटिआईले आफ्ना स्वतन्त्र सांसदलाई एकमुष्ट राखिराख्न सानो आकारको पार्टीमा आफ्ना सबै स्वतन्त्र सांसदलाई गोलबद्ध गर्ने र संसद्मा आफ्नो उपस्थिति जनाउने बताएको छ।

यता चुनावको परिणाम आउनेबित्तिकै पूर्वप्रधानमन्त्री नवाज सरिफले आफ्नो पार्टी सबैभन्दा ठुलो दल भएकाले सरकार गठनका लागि सघाउन आह्वान गरेका छन्।

उता पिटिआईका वरिष्ठ नेता गोहर खानले आफ्नो पार्टीले सबैभन्दा बढी मत ल्याएका कारण सरकार बनाउन पाउनुपर्ने माग राखेका छन्। आफूहरूले सरकार बनाउन नपाए देशव्यापी प्रदर्शन गर्ने पनि जनाएका छन्। सबैभन्दा रोचक चाहिँ पाकिस्तानको राज्य सरकारको चुनावमा देखिएको छ।

पाकिस्तानको खैबरपख्तुनवा राज्यमा ११५ सिटको प्रदेश सरकार निर्वाचनमा खानको पिटिआईले उठाएका ९० स्वतन्त्र सांसदले जितेका छन्। त्यहाँ कसरी प्रदेश सरकार बन्छ, त्यसले केन्द्र सरकारमा पनि ठुलो प्रभाव पर्ने केही विश्लेषकहरू बताउँछन्।

प्रकाशित: २८ माघ २०८० ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App