१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री बुढाथोकीको प्रोस्टेट क्यान्सरका कारण निधन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ। अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी काँग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए। उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन्।

काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’ को उपचार गराइरहेका उनको गयराति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो।

तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए। यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए। उनी वि.सं.२०६४ मा काँग्रेसका तर्फबाट झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने वि.सं. २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए।

नेपाली काँग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए। जनतामाझ उनी निडर र स्पष्ट वक्ता भनेर चिनिन्थे। तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए। वि.सं. २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए।

पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्रकालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बनेका थिए।

विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थिए। पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईँले बताए। उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। रासस

प्रकाशित: २३ माघ २०८० ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App