१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

भारतीय विदेशमन्त्री डा. एस जयशंकर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्।

आजबाट सुरु हुने नेपाल–भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आज बिहान १० बजे भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौँ आइपुग्ने छन्।

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार मन्त्री जयशंकरले आज उच्चपदस्थ राजनीतिक भेटघाट पनि गर्नेछन्। जस अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेललाई बिहान ११ बजे शितल निवासमा भेट्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई १२ बजे प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा भेट्नेछन्।

त्यसपछि दिउँसो १ बजे उनको परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। बैठक पछि आजै दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नेछन्।

भोलि भने मन्त्री जयशंकर बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन्।

नेपाल र भारतका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने, नेपालले नयाँ हवाइ रुटका लागि भारतसमक्ष प्रस्ताव पेश गर्ने लगायतका कार्यक्रम रहेको छ।

यस्तै नेपाल र भारतका परराष्ट्र मन्त्रीले १३२ केभीएका ३ वटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

दुवै देशका परराष्ट्रमन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन्।

भारतीय विदेश मन्त्री जयशंकरको भोलि नै भारत फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ पुस २०८० ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App