१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नैतिक संकटमा गृह, श्रम र भौतिक पूर्वाधारमन्त्री

ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्।

आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने क्रममा गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्रीले समस्यालाई समयमै सुल्झाउन नसक्दा युवाहरू त्यसरी आन्दोलित हुनुपरेको थियो।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) मा सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाले शुक्रबार इपिएस शाखा कार्यालय ग्वार्काेनजिक आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला त्यही बाटोबाट झन्डावाला गाडीमा सवार भएका थिए। 

मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवालजवाफमा उत्रिनु तथा भिडलाई उत्तेजित हुनेगरी कुराकानी गर्नु घटनाको मुख्य कारण रहेको गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूले जनाएका छन्।

इपिएसको कार्यालयअगाडि सयौं युवा बिहीबारैदेखि आन्दोलन गरिरहेको र त्यो आन्दोलनले शुक्रबार पनि निरन्तरता पाएको अवस्थामा मन्त्री ज्वालाले भने आफूलाई त्यसबारे जानकारी नै नभएको र सुरक्षाकर्मीले खबरसमेत नगरेको भनेर जोगिने प्रयास गरिरहेका छन्। त्यसैगरी श्रममन्त्री भण्डारीले भने अहिलेसम्म कुनै अभिव्यक्ति दिएका छैनन्। मानौं,उनी यो घटनाभन्दा टाढै छन्।

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवालजवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ। त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टीको बैठकस्थलमा पुर्‍याएको रहेछ। इपिएसका कर्मचारी पनि जिम्मेवार बनेको देखिएन,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिमा बताएका छन्। गृहमन्त्रीको यस्तो भनाइका कारण मन्त्री ज्वालामाथि पदमा बसिररहन नैतिक संकट उत्पन्न भएको छ। तर उनी सोमबारसम्म पनि प्रस्टीकरण दिँदै हिँडिरहेका छन्।

ग्वार्को क्षेत्रमा बिहीबारदेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो। शुक्रबार पनि सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा अधिकारीहरू बताउँछन्। सोही कारण बाक्लै संख्यामा प्रहरी परिचालन गरिएको थियो। तर मन्त्रीको गाडी देखेपछि भिड अराजकतातर्फ मोडिएको थियो। 

नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक ललितपुरको कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको हुँदा मन्त्री ज्वालाले त्यो बाटो प्रयोग गरेका थिए।

बैठकमा सहभागी मन्त्री ज्वाला बैठक चलिरहेको अवस्थामै काम छ भन्दै बैठकबाट निस्किएका थिए। गाडीमा बसेपछि पिएसओलाई बाटोको अवस्था कस्तो छ भनेर बुझ्न पनि लगाएका थिए। पिएसओले पार्टी प्यालेसबाट बाहिर सडकमा निस्कने मुख्य सडक असुरक्षित भएकाले अर्को बाटो जानुपर्ने जानकारी गराए पनि मन्त्री ज्वालाले जबर्जस्त त्यही बाटो जान लगाएका थिए। 

‘ज्वालाले नै जबर्जस्ती त्यही बाटो जान दबाब दिएका रहेछन्,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘उनकै कारणले दुई युवाको ज्यान गयो। ड्युटीमा खटिएका प्रहरीले उनलाई जोगाउँदा घाइते मात्रै हुनुपरेन निलम्बितसमेत हुनुपर्‍यो।’

उक्त घटनामा दुई मन्त्री दोषी रहेको भन्दै छानबिनको माग गरिएको छ। सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवरले आन्दोलनको उत्पत्ति श्रम मन्त्रालय र दुई जनाको ज्यान जानुमा भौतिक पूर्वाधार मन्त्री कारण रहेको बताएपछि उनीहरूमाथि छानबिन गर्न निर्देशन भएको छ।

बालकुमारी घटनामा दुई युवकको मृत्यु भएपछि सोमबार गृहमन्त्री श्रेष्ठका साथै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै समितिले सो घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो। 

इपिएस कार्यालय श्रम मन्त्रालयअन्तर्गत पर्ने भएकाले सो मन्त्रालयको कमीकमजोरीबारे छानबिन गर्न निर्देशन दिइएको हो। साथै आन्दोलन भइरहेको बेला भौतिक पूर्वाधारमन्त्री ज्वाला झन्डावाल गाडी लिएर सोही बाटो हुँदै गएकाले घटनामा उनको भूमिका देखिएको भन्दै छानबिन गर्न निर्देशन दिइएको हो। 

बैठकले साना कर्मचारी मात्र निलम्बन हुने र अरू उम्किने अवस्था सिर्जना नहुने र काम गर्नेहरूको मनोबल पनि नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित ढंगले काम गर्न निर्देशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

जब समितिको कठघरामा उभिएर गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक कुँवरले भौतिक पूर्वाधारमन्त्री ज्वलाले त्यो रुट प्रयोग नगरेको भए र श्रम मन्त्रालयले यसअघि नै समस्या समाधानमा तदारुकता देखाएको भए यति ठुलो घट्ना नहुने बताएपछि समितिले दुई मन्त्री ज्वाला र भण्डारीको भूमिकामाथि छानबिनको निर्देशन दिएको हो। छानबिनको निर्देशनपछि पनि मन्त्री ज्वालाले आफूलाई त्यो रुटमा आन्दोलन भएको जानकारी नभएको प्रस्टीकरण दिँदै जोगिने प्रयास गरेका छन्।

समितिमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा जिम्मेवार मन्त्रीको कमजोरी भएको बताएका थिए। घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी भएको थियो भनेर छलफल गरिएको जानकारी दिँदै उनले श्रम मन्त्रालयको भूमिका पनि सकारात्मक नदेखिएको आरोप लगाएका थिए।

‘रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक देखिएन, भौतिक पूर्वाधारमन्त्रीको सुरक्षा अधिकारीले पनि जिम्मेवारी पूरा नगरेको देखियो,’ मन्त्री श्रेष्ठले भने। 

अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा र प्रहरी प्रमुखलाई प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै मन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही १० लाख रूपैयाँ राहतको व्यवस्था गरिएको बताए। 

मृतकको परिवारलाई इपिएस फन्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको पनि उनले जानकारी दिए। ‘कहीँ न कहीँ सरकारी कमजोरी भएको निष्कर्ष निकालेर प्रारम्भिक रूपमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो,’ गृहमन्त्री श्रेष्ठले भने।

प्रहरी बललाई स्थिति नियन्त्रणमा लिन गोली नै नचलाउनू भन्ने सर्कुलर गरिएको जिकिर पनि मन्त्री श्रेष्ठले गरे। नागरिकको जिउधन, सरकारी तथा निजी भौतिक सम्पत्तिमा गम्भीर क्षति पुग्ने अवस्था देखिए सोच्नुपर्ने तर सकेसम्म गोली प्रहार गर्न नहुने भन्नेमा मन्त्रालय रहेको जानकारी उनले दिएका थिए। तर प्रहरीमाथि जाइलागे र सरकारी तथा निजी सम्पत्ति तोडफोड भएको अवस्थामा भिड नियन्त्राणमा लिन के गर्ने भन्ने विषयमा भने मन्त्री श्रेष्ठ मौन बसेका छन्।

समितिको बैठकमा एमाले सांसद राजेन्द्र राईले गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरे। ‘गृहमन्त्रीज्यू, तपाईं शालीन व्यक्ति हुनुहुन्छ, राजीनामा दिनुस्। युवाहरू विदेश गएर काम गर्न चाहन्छु भन्दा तपाईं ताकीताकी गोली हान्नुहुन्छ भने तपाईंले राजीनामा नदिए कसले दिने ’ उनले भने। 

उनले ड्युटीमा खटिएका प्रहरीलाई निलम्बन गरेर आफू ठिक छु भनी समितिमा प्रस्तुत हुनुको कुनै अर्थ नहुने बताउँदै सांसद राईले उनीहरूलाई निलम्बन गर्नुभन्दा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए। 

‘मन्त्रीज्यू, तपाईंले गृह मन्त्रालय चलाउन सक्नुभएन अब राजीनामा दिनुस्, ‘घटनाको छानबिनका लागि समिति पनि बन्यो, तलका मान्छेलाई कारबाही पनि भयो। अब यसो गरौं मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस्, सबैभन्दा राम्रो कुरा,’ उनले भने। तर सांसद राईले उठाएको विषयमा गृहमन्त्री श्रेष्ठले केही बोल्न चाहेनन्।

गृहमन्त्री र रविबीच पनि नोकझोक  

समितिको बैठकमा बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएका उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच नोकझोक भएको छ। पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति गरेका श्रेष्ठ पदको लोभी भएको आरोप लगाए। 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरी अधिकृतहरूको सरुवा गरेर आफ्नो पद जोगाएको र सुन काण्डमा मुछिएकालाई पनि जोगाएको आरोप लगाएर लामिछाने बैठकबाट बाहिरिएका थिए। उनी निस्केपछि समितिको बैठकमा कांग्रेस सांसद गगन थापाले पूर्वगृहमन्त्रीले बहालवाला गृहमन्त्रीमाथि लगाएको आरोप गम्भीर भएको बताउँदै त्यसबारे समितिको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।

बैठक छाडेर हिँडेका लामिछानेको प्रश्नमा केन्द्रित रहेर बोलेका गृहमन्त्री श्रेष्ठले एकपटक कानुनी प्रक्रिया पूरा गरेर जोगिँदैमा पटकपटक कोही पनि जोगिन नसक्ने बताए। ‘म धेरै त भन्दिनँ, रियाक्टिभ हुने बानी पनि छैन तर प्रिएम्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?’ उनले भने। उनले लामिछानेले पत्रकार सम्मेलनमा बोलेको कुरालाई लिएर पनि समितिको बैठकमा जवाफ दिएका थिए।

‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं। मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरूलाई ? अथवा आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन। त्यस्तो त हुन्न। दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइन्छ तर त्यो प्रतिशोधशून्य हुन्छ,’ गृहमन्त्री श्रेष्ठले भने।  

प्रकाशित: १७ पुस २०८० ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App