२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बालकुमारी गोली काण्ड: ‘अभिभावक बन्नुपर्ने राज्य हत्यारा’

आफन्तले बुझ्न मानेनन् शव, गृहमन्त्रीमाथि छानबिन माग

दशरथ रंगशालामा शनिबार आयोजित नेपाल सुपर लिग फुटबलको फाइनल खेल हेर्न पुगेका दर्शक बालकुमारी गोली काण्डमा मृत्यु भएका दुई युवकको तस्बिर अंकित प्लेकार्ड बोकेर श्रद्धाञ्जली व्यक्त गर्दै। तस्बिर: नागरिक

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन् ।

‘देशमै रोजगारी नपाउँदा बाध्य भएर बिदेसिने चाहना बोकेको युवामाथि राज्यले गोली प्रहार गरेको छ। राज्यले किन यसरी हत्या गर्‍यो? यसमा दोषी कोको हुन्? थाहा पाउनुपर्छ। दोषीलाई कारबाही हुनुपर्छ,’ मृतक वीरेन्द्र शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले भने, ‘तब मात्रै  शव बुझ्छौं।’

अर्का मृतक सुजन राउतका मामा टेकबहादुर कटुवालले पनि राज्यले हत्या गरेको आरोप लगाए। उनले भने, ‘जनताको अभिभावकत्व बहन गर्नुपर्ने राज्य र राज्यका जिम्मेवार व्यक्तिको संलग्नतामा हत्या भएको छ।’

उनले थपे, ‘हत्याका दोषी पत्ता लगाउने, कारबाहीको ग्यारेन्टी गर्ने र उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन्नौं ।’  

गृह मन्त्रालयले घटना छानबिनका लागि शुक्रबारै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्य संयोजक र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार तथा राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेको समिति बनाएको थियो। यसैबीच शनिबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले मृतक युवकका परिवारलाई राहतस्वरूप १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

छानबिन समिति गठन र राहत दिने निर्णयप्रति मृतकका आफन्तले चित्त बुझाएका छैनन्। ‘सरकारले बनाएको छानबिन समिति पनि विश्वसनीय छैन,’ कटुवालले भने, ‘प्रहरी र प्रशासनले नै हत्या गरेको छ। तीनै प्रहरी र प्रशासनका व्यक्तिहरू राखेर छानबिन समिति बनाइएको छ, दोषीलाई कारबाही हुन्छ भनेर कसरी विश्वास गर्ने?’

आफन्तले शनिबार दिउँसो शव नउठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूलाई साँझ बालुवाटारमा बोलाएर छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गृहसचिव दिनेश भट्टराईलाई राखेर प्रधानमन्त्री दाहालले मृतकका आफन्तसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिहीबार बालुवाटारमा भेट गर्दै शुक्रबार ललितपुरको बालकुमारीमा भएको गोलीकाण्डपीडितका परिवारजन। तस्बिर : नागरिक

छलफलमा मृतकका आफन्तले आफ्ना माग प्रस्ट रूपमा राखेको पूरा गर्न आइतबार बिहानसम्मको समय दिएका छन्। ‘हामीले हाम्रा माग राखेका छौं। भोलि (आइतबार) बिहानसम्म सम्बोधन गर्न भनेका छौं, नभए आन्दोलन गर्ने जानकारी दियौं,’ कटुवालले भने।

मृतकका आफन्तले घटना छानबिनका लागि न्यायिक समिति बनाउनुपर्ने र गृहमन्त्रीसहित मन्त्रालय, प्रहरी नेतृत्वसहितका अधिकारी, वैदेशिक रोजगार विभाग र सम्बद्ध निकायको भूमिकाको पनि छानबिन हुनुपर्ने माग राखेका छन्।

 ‘यो घटनामा धेरैको भूमिका शंकास्पद छ। जुन कुरा हामीले प्रधानमन्त्रीसँग राख्यौं,’ कटुवालले भने, ‘हामीले शंकास्पद देखेका केही कुरा प्रधानमन्त्रीज्यूले पनि स्वीकार गर्नुभएको छ।’

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले आह्वान गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षामा आवेदन दिन वञ्चित गरिएका युवाले शुक्रबार बालकुमारीमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह घाइते भएका थिए। घाइते अवस्थामा राउतलाई किस्ट अस्पताल र शाहलाई पाटन अस्पताल पुर्‍याइएको थियो। दुवैजनाको उपचारका क्रममा मृत्यु भएको थियो।

तीन अधिकारी निलम्बित, प्रजिअ र प्रहरी प्रमुख तानिए

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले बालकुमारी घटनामा कमजोरी देखिएका अधिकारीहरूलाई निलम्बन गरेको छ। घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका पिएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गरिएको हो।

दनुवारलाई तनावग्रस्त क्षेत्रको जानकारी नलिईकन मन्त्रीलाई गाडीसहित त्यहाँ पुर्‍याएको आरोपमा निलम्बन गरिएको हो। प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगो लगाऐपछि प्रहरीले गोली चलाउँदा दुईजनाको ज्यान गएको थियो।

 यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।

प्रकाशित: १५ पुस २०८० ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App