२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एसको चेतावनीः गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ। 

शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ। मृत्युपछि पार्टीले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरेको छ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका केन्द्रिय सदस्य सुदेश पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए। उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको बताए। युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे।

उनले भने, ‘प्रहरी प्रशासनबाट जुन किसिमले दुई जना युवाहरुको हत्या भएको छ, यो अत्यन्त निन्दनीय छ। गृह प्रशासन र नेपाल सरकारलाई आग्रह र अनुरोध पनि गर्न चाहन्छौँ की दुई जना युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा आज उनीहरुलाई जसरी छातिमा गोली लागेको छ, यो अत्यन्तै निन्दनिय छ। हाम्रो केन्द्रिय कमिटीको बैठक र पार्टीको तर्फबाट पनि निन्दा गर्न चाहन्छौँ। यो किसिमको बर्बर दमन तत्काल रोक्न नेपाल सरकारलाई बैठकमार्फत पनि माग गर्न चाहन्छौँ। युवाको समस्या समाधान गर्न यो सरकार तयार छैन भन्नेकुरा पनि देखाउँछ। माननीय गृहमन्त्रीज्यु युवाको छातीमा गोली हानेर होइन, युवासँगको समस्या समाधान गरेर वार्तामार्फत समस्या समाधान गर्नुहोस्। गोली हानेर समस्याको समाधान निकाल्ने जमाना समाप्त भइसक्यो । घृणित कार्य नगर्न आग्रह छ।’

प्रकाशित: १३ पुस २०८० १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App