१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालले लगानी भित्र्याउन नीतिगत सुधार गरेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालमा लगानी गर्न लागि आग्रह गर्दै यसका लागि नेपालले नीतिगत सुधार गरेको जानकारी गराएका छन्।

संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल-दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे बताएका छन्।

युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएई र नेपाल बीचको आर्थिक सम्बन्ध अझ सबल तुल्याउन घनीभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको धारणा राखे।

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए। कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीको उपस्थिति थियो।

प्रकाशित: १५ मंसिर २०८० ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App