१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आज ओली–प्रसाईं आमनेसामने:प्रदर्शनमा घुसपैठ हुन सक्ने प्रहरीको आशंका

सुरक्षा निकायले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन गरेका छन्। सुरक्षा निकायसँग प्राप्त गुप्तचरी सूचनाअनुसार प्रसाईंको कार्यक्रममा विभिन्न अभीष्ट बोकेका छुट्टाछुट्टै स्वार्थ समूहको घुसपैठ पाइएको छ। जसले गर्दा बिहीबार (आज)काे कार्यक्रम सुरक्षाका दृष्टिकोणबाट निकै संवेदनशील हुने सुरक्षा निकायहरूको विश्लेषण छ। 

‘यसमा धेरै किसिमका स्वार्थ बोकेका, विभिन्न आन्दोलन र धर्नामा लागेका, विभिन्न राजनीतिक अजेन्डा बोकेका व्यक्तिको घुसपैठ छ। हुल्लडबाजदेखि भिजिलान्तेहरू पनि त्यहाँ छन्। उनीहरूका आ–आफ्नै मक्सद छन्,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने, ‘त्यसैले कार्यक्रममा स्वयं प्रसाईंजीको नियन्त्रण हुने देखिन्न।’ कसैको नियन्त्रणमा नहुने भिड निकै संवेदनशील हुने ती अधिकारीले बताए। ‘बुधबार नै पत्रकार सम्मेलनमा माइक खोसाखोस भएको थियो । यस्तोमा भीडमा माइक हानाहान, हुलहुज्जत नहोला भन्न सकिने अवस्था छैन,’ ती अधिकारीले भने।  

सुरक्षा निकायले प्रसाईंको कार्यक्रमको तुलनामा राष्ट्रिय युवा संघलगायत एमालेका जनवर्गीय संगठनको कार्यक्रममा अलि कम जोखिम रहेको विश्लेषण गरेका छन्। ती सुरक्षा अधिकारी भन्छन्, ‘त्यो कार्यक्रम कम्तीमा एउटा देखिने संरचना हो । केही जोखिम भइहाले पार्टीको नेतासँग समन्वय गरेर स्थिति नियन्त्रणमा ल्याउन सकिन्छ ।’ त्यहाँ पनि घुसपैठ हुन सक्ने खतरा भने उत्तिकै रहेको ती अधिकारी बताउँछन्।  

सुरक्षामा उच्च सतर्कता  

सुरक्षा निकाय र उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सम्भावित जोखिम तथा चुनौतीहरूको विश्लेषण गरेर सुरक्षा योजना गृह मन्त्रालयमा पठाएका छन्। तीनवटै जिल्ला सुरक्षा समितिहरूबाट चुनौती विश्लेषणसहितका योजना गृह मन्त्रालयमा आइपुगेको गृहले जनाएको छ।

जसअनुसार गृहको निर्देशन एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा तीनवटै जिल्ला सम्मिलित ‘विशेष सुरक्षा योजना’ बनाइएको छ । जुन बुधबारबाटै कार्यान्वयन गरिएको छ।  

‘सुरक्षा योजनाअनुसार तीनवटै सुरक्षा निकायका टोली परिचालित भइसकेका छन्,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सीमानाकाको चेकजाँचदेखि, संवेदनशील स्थानमा गस्ती, निगरानीलगायत काम गरिरहेको छ भने गुप्तचरीमा राष्ट्रिय अनुसन्धान विभागको टोलीले काम गरिरहेको छ।’  

गुप्तचरीमा सशस्त्र र नेपाल प्रहरीकै टोली पनि परिचालित गरिएको उनले बताए। सुरक्षा निकायले काठमाडौं भित्रिने नाकाहरूमा दुई समूहबीच मुडभेड, हातहतियार ओसारपसारको सम्भावना देखेका छन्। जसमा बुधबार रातिदेखि नै उच्च सतर्कता अपनाइएको एआइजी थापाले बताए। यस्तै यसैबीच महत्त्वपूर्ण प्रतिष्ठान, सरकारी संरचना, भिभिआइपीका घर, बैंक तथा वित्तीय संस्था, विदेशी नियोगका कार्यालय, भिभिआइपीका भ्रमणमा पनि आक्रमण हुनसक्ने सुरक्षा निकायको अनुमान छ। यी सबै ठाउँमा पनि सुरक्षाको उच्च पहरा राखिएको छ।  

यस्तै बिहीबार बिहानैदेखि संवेदनशील संरचनामा अझै सुरक्षा बढाउने सुरक्षा संयन्त्रको तयारी छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले युवा संघका लागि काठमाडौंको तीनकुने र प्रसाईं समूहका लागि बल्खु क्षेत्र कार्यक्रमस्थल तोकिदिएको छ। जसमा दुवै समूहले स्वीकृति जनाइसकेका छन्।  

निर्धारित क्षेत्र नाघेर बाहिर गए बल प्रयोग गरेर फर्काउने प्रशासन र सुरक्षा निकायको तयारी छ । ‘उहाँहरूले विरोध जनाउने हकअनुसार सल्लाहमै दुई अलग–अलग स्थान हामीले तोकिदिएका छौं । निर्धारित ठाउँमै कार्यक्रम गर्नुहुनेछ भन्ने अपेक्षा छ,’ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले भने, ‘बस, सवारीसाधन वा हिँडडुल गरेर आउजाउ गर्न पाइन्छ । तर बाहिर गएर कार्यक्रम गर्न खोजे रोकिन्छ।’  

दुई समूहका कार्यक्रम निकै टाढा रहेकाले झडप हुने सम्भावना भने कम हुने एआइजी थापा बताउँछन्। ‘कार्यक्रमस्थल निकै टाढा छ । त्यसैले परस्पर झडप हुने सम्भावना त रहन्न,’ उनले भने, ‘बरु एकापसमै विवाद हुनसक्ने सम्भावना हुनसक्छ ।’ त्यो सम्भावना युवा संघभन्दा प्रसाईं समूहको कार्यक्रममा हुने उनी बताउँछन्। ‘हामीले उहाँहरूकै कार्यक्रममा पनि समान किसिमको सुरक्षा प्रदान गर्छौं । उहाँहरूले शान्तिपूर्ण रूपमा तोकिएको क्षेत्रमा कार्यक्रम गरेसम्म सुरक्षामा साथ दिन्छौं,’ एआइजी थापाले भने ।  

सुरक्षा र प्रशासन हाइअलर्ट  

उपत्यकाको सुरक्षामा नेपाल प्रहरीलाई अग्रमोर्चामा राखेर दोस्रोमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागले आफ्नो दायित्वअनुसार काम गर्नेछ । सुरक्षाको मुख्य नेतृत्व एआइजी थापालाई दिइएको छ।  

यस्तै जिल्लाको नेतृत्व सम्बन्धित जिल्ला प्रहरीपरिसरका प्रमुखलाई दिएर परिचालन गरिएको छ । सुरक्षा निकायले परस्पर समन्वयमा फिल्डको सुरक्षा गर्नेछन्। जसमा केन्द्रबाहेक उपत्यकामा रहेका तीनवटै सुरक्षा निकायको लगभग सबै जनशक्ति आवश्यकताअनुसार परिचालन भइरहेको जनाइएको छ। आवश्यकताका आधारमा केन्द्रबाट पनि थप जनशक्ति पठाउन सकिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायतले जानकारी दिए । उनले भने, ‘सुरक्षामा कुनै कमी रहँदैन। आवश्यक समन्वय भइरहेको हुन्छ। रिजर्भ फोर्स तम्तयार नै हुन्छ। आवश्यक परेको खण्डमा जति पनि पठाइन्छ ।’ जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको संयन्त्र पनि सचेत रहेको मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश भट्टराईले बताए।  

सुरक्षा निकायहरूले युवा संघको कार्यक्रममा १० हजार र प्रसाईंको कार्यक्रममा आठ हजार जति मानिस भेला हुनसक्ने अनुमान गरेका छन्।  

युवा संघले व्यवस्थाविरोधी गतिविधि र सरकारविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम आह्वान गरेको छ भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानबाट ‘बृहत् मुक्ति आन्दोलन’ नामक प्रदर्शन कार्यक्रम आह्वान गरेका छन्। प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुलिरहेको भन्दै ऋण मिनाहाको माग गरिरहेका छन्।

प्रकाशित: ७ मंसिर २०८० ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App