१० पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

फेरि भेटियो पाँच किलो विदेशी गाँजा, दुई थाई र एक भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको पाँच किलोग्राम विदेशी गाँजासहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले ५ किलो २०० ग्राम गाँजासहित दुई थाई युवती र एक जना भारतीय नागरिक पक्राउ गरेको हो। 

मङ्गलवार दिउँसो एक बजे विमानस्थलमा अवतरण गरेको थाई एयरलाइन्सको उडान नम्बर टिजी ३१९ विमानबाट उक्त गाँजा भित्रिएको थियो। उक्त जहाज थाइल्यान्डबाट आएको थियो। जसमा सवार २७ वर्षिया थाई नागरिक क्यानोक्वान पोङसुवानसँग उक्त गाँजा भेटिएको हो। विमानस्थलको आगमन तर्फको रेड च्यानल क्षेत्रको एक्स-रे मेसिन नजिक पुग्दा त्यहाँ खटिएको ब्युरोको टोलीले पोङसुवानमाथि शङ्का गरेको थियो। पछि चेकजाँच गर्दा उनीसँग उक्त गाँजा भेटिएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

पछि थप अनुसन्धान गर्दा उनीसँग थप दुई जना पनि गाँजा तस्करीमा रहेको खुलेको थियो। जसमा २४ वर्षियाअर्की थाई युवती चोन्लाडा निन्चट्टुरट र ३१ वर्षीय भारतीय नागरिक जमशेद मलिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ। 

अनुसन्धानकै क्रममा मुख्य कारोबारी थाइल्यान्डमै रहेको र त्यहाँबाट थाई महिलामार्फत गाँजा नेपाल ‘ट्रान्जिट’ बनाई भारतीय नागरिकमार्फत भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको थप खुलेको प्रहरीले जनाएको छ। 

यस्तै यो समूहले विगतमा पनि नेपाल र भारतको विभिन्न मार्ग प्रयोग गरेर खाडी मुलुकमा समेत लागु औषध कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ। 

नेपालमा यसअघि पनि अमेरिका र युरोप लगायतका देशबाट पनि गाँजा आयात हुने गरेको भेटिने गरेको छ। जसमध्ये अधिकांशको गन्तव्य भारत हुने गरेको छ। 

प्रकाशित: २८ चैत्र २०८१ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App