१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

७ गते राजावादी प्रदर्शनविरुद्ध एमालेको प्रतिरोध

एमालेले लोकतान्त्रिक व्यवस्थाविरोधी गतिविधिको देशव्यापी रूपमा प्रतिरोध गर्ने भएको छ। मंसिर ७ गते पार्टीको जनसंगठन युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनको स्वामित्व पनि एमालेले लिने भएको छ। देशव्यापी रूपमा जनसंगठन परिचालन गरेर लोकतान्त्रिक व्यवस्थाविरोधी गतिविधिको प्रतिरोध गर्ने तयारी एमालेले गरेको हो।

एमालेले मंसिर ७ गते गर्ने प्रदर्शनलाई राजनीतिक मिसनका रूपमा लिएको छ। एमालेले सुरुदेखि नै सरकारको विरोधकै रूपमा कार्यक्रम तय गरेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एक समूहले पनि राजसंस्था पुनःस्थापनाको माग राख्दै  सोही दिन प्रदर्शन गर्ने जनाएको छ। त्यसपछि युवा संघले मात्र गर्ने भनेको प्रदर्शनलाई पार्टीले नै स्वामित्व लिएको हो।

शनिबार एमालेको मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नेतृत्वमा भएको भेलाले मंसिर ७ गते युवा संघले गर्ने कार्यक्रमको स्वामित्व पार्टीले लिने र गणतन्त्र विरोधी गतिविधिको देशव्यापी रूपमा प्रतिरोध गर्ने निर्णय गरेको हो।

एमाले अध्यक्ष ओलीले निषेधित क्षेत्र नतोडी शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

ओलीले अहिलेको सरकारकै कारण अराजकता फैलिएको बताउँदै व्यवस्था विरोधीहरू सल्बलाउन थालेकाले प्रतिरोध गर्नु एमालेको दायित्व र कर्तव्य भएको बताउँदै शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न निर्देशन दिएका हुन्।

मंसिर ७ को जनप्रदर्शनमा एमालेका सबै जनसंगठन सिंगो पार्टीका नेता कार्यकर्ताहरूसमेत सहभागी हुने भएका छन्। एमालेका युवा विद्यार्थी, सम्पर्क कमिटीलगायत २३ वटा जनसंगठनहरूको अगुवाइमा उक्त दिन प्रदर्शन गरिनेछ।

कुनै एउटा अराजक झुन्डले सामाजिक अराजकता फैलाएको र राज्यको अर्थतन्त्रमाथि नै चुनौती थपिदिएको, बैंकको ऋण मिनाहा गरिदिन्छु, बैंकको ऋण तिर्नुपर्दैन भन्नेजस्ता अफवाह फैलाएका कारण समाज झन विशृंखलित हुँदै गएको एमालेको निष्कर्ष छ।

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यहरूको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेपछि नेताहरूले लोकतान्त्रिक व्यवस्था जोगाउन एमालेले अग्रसरता लिन लागेको बताएका थिए।

पार्टी कार्यालय च्यासलमा शनिबार दिउँसो आयोजित जनसंगठन भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताकार्यकर्तालाई विशेष निर्देशन दिए।

प्रतिक्रियावादी शक्तिले कुनै एक व्यक्तिलाई उचालेर देशभरबाट काठमााडौंमा मान्छे ल्याउन लागेको पनि ओलीले बताए। त्यसअघि महासचिव पोखरेलले अहिलेको अवस्थामा शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्न कोही न कोही त अगाडि आउनुपर्ने बताएका थिए। उनले त्यसका लागि कोही न कोही भनेका एमालेका युवा विद्यार्थी हुन् भन्दै मंसिर ७ गते गर्ने भनिएको प्रदर्शनको स्वामित्व पार्टीले लिने जानकारी गराएका थिए।

‘अहिलेको अवस्थामा हामी सत्तामा छैनौं, त्यसैले केही वास्ता छैन भनेर बस्न मिल्छ? यो सरकार नालायक भयो भन्दैमा एमाले गैरजिम्मेवार बन्न सक्छ? समाजलाई सही बाटोमा हिँडाउने दायित्व राज्यसत्ताको हो भनेर हामी उदासीन बन्न सक्दैनौं। शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्न कोही न कोही त अगाडि आउनुपर्छ। त्यो कोही न कोही भनेका एमालेका युवा विद्यार्थी हुन्,’ उनले भनेका थिए।

संयन्त्रको भेलाको सुरुमै इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसन भएको बताएका थिए। उनले मंसिर ७ को प्रदर्शन पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाउन भेलाको आयोजना गरेको बताएका थिए।

राजनीतिक मिसनकै रूपमा रहेको कार्यक्रम भएकाले अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएको संयन्त्रकी उपप्रमुख रचना खड्काले जानकारी दिइन्। उनले मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार र सत्ताको ज्यादतीविरुद्ध एमालेले विरोध प्रदर्शन गर्न लागेको र लोकतान्त्रिक व्यवस्थाविरुद्ध गतिविधि भए एमालेबाट प्रतिरोध हुने संकेत पनि गरेकी थिइन्।

भेलालाई सम्बोधन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र औंलो ठड्याउने काम कतैबाट भए त्यसलाई मत्थर पार्ने काम एमालेले गर्ने बताए।

 ‘हामीले यातना सहेर, अंगभंग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो। बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर लोकतन्त्र ल्याएका हौं। त्यसकारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु। लोकतन्त्रविरुद्ध लड्ने कुरा त छाडिदिऊँ, लोकतन्त्रविरुद्ध औंलो ठड्यायो भने त्यो औंलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण तरिकाले हामी झारिदिन्छौं,’ ओलीले भने।

ओलीले एमालेले सरकारको कुशासन चुपचाप सहेर नबस्ने पनि बताए। ‘७ गते हामी अलिकति थोरै के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर हामी देखाउँछौं,’ ओलीले भने।

ओलीले प्रधानमन्त्रीलाई र सरकारलाई धेरैपटक सुझाव दिएको र विपक्षी दलको नेताको हैसियतबाट संसद्मा धेरै पटक सम्बोधन पनि गरिसकेको बताउँदै सरकारमा रहेका दलका नेताहरूमा सुधारको संकेत नदेखिएकाले त्यसविरुद्ध प्रदर्शन गर्नुपरेको पनि उनले बताए।

‘१२ बुँदे सहमतिका नजिक रहेका दलहरूलाई समेटेर प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि मैले भनेको थिएँ-बेथिति आदि कुरा प्रधानमन्त्रीले स्विकार्नुभयो। देशमा परिस्थिति अप्ठेरो बनेको पनि स्वीकार गर्नुभयो। तर यसका लागि के गर्ने भन्नेबारे बोल्नुभएन।

मैले भनें-यसको कारण के हो भन्ने बुझ्नुपर्‍यो नि पहिले भनेको थिएँ,’ उनले भने, ‘७ गते, म सुन्दै छु, कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन्, देशभरबाट काठमाडौंमा मानिस उतार्न लागेका छन्। ती मानिस आएर काठमाडौंमा हुने त केही होइन, तिनले गर्दा काठमाडौंमा फोहोर मात्रै हुन्छ, अरू केही हुनेवाला छैन।’

आफूहरूले मान्छे ओसारेर नभई काठमाडौंमै भएका युवा, विद्यार्थीको सहभागितामा प्रदर्शन गर्ने ओलीले बताए। ‘पृष्ठ भागमा युवा, विद्यार्थी एक्लै हुने छैनन्, त्यहाँ संरक्षक संस्थाहरू पनि छन् भन्ने कुरा म सरकार र अरू प्रकारका सबै दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूलाई भन्न चाहन्छु,’ उनले भने। उनले जनसंगठनले गर्ने प्रदर्शन शान्तिपूर्ण रूपमा सरकारले तोकेको स्थानमा हुने पनि स्पष्ट पारे।

प्रकाशित: ३ मंसिर २०८० ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App