१७ असार २०८१ सोमबार
image/svg+xml
कला

के छोरी दान दिने वस्तु हो?

पुस्तक

मानव विकासक्रमको निरन्तरता भनेकै महिला र पुरुष हुन्। संसारका यी दुई जातको माध्यमबाट नै जीवनको रूपरेखा निर्माण हुन्छ र चलिरहन्छ। जीवनचक्रका खुड्किलाहरू पार गर्न पुरुषको जति भूमिका हुन्छ, उति नै महिलाको पनि हक, अधिकार र दायित्व हुन्छ। नारीहरूले पाएको जन्मसिद्घ अधिकारलाई कसैसँग दयाभाव जगाएर मागिरहनु पर्ला त? तर त्यस्ता नैसर्गिक अधिकारलाई जानेर वा नजानेर या त अन्धविश्वास र सामाजिक जडताको कारण प्रयोग गर्न नसकेको? त्यसको निकास खोज्नलाई समानताको बिगुल फुक्दै अक्करे भिरको चट्टानमा टाँसिएको भिरमाहुरीको महजस्तै ओखती बनेर आएको यो उपन्यास ‘भिरमह’ वास्तवमै विभेदमा परेका, घरेलु हिंसाको सिकार भएका, शिक्षाबाट वञ्चित भएका र गरिबीले पिल्सिएर पछाडि परेकाहरूको बुलन्द आवाज हो। जसको कथावस्तुले अन्धकारबाट उज्यालोतिर अनि बाटो बिराएकालाई सही बाटोमा ल्याउन माहुरीको एकताबाट उदाहरण लिँदै साहित्यकार डा. रेणुका सोलुद्वारा जनचेतनालाई प्रमुख विषय बनाएर लेखिएको नारी सशक्तीकरणको एउटा अभियान हो।

थोपाथोपा मिलेर समुन्द्र बनेजस्तै, माहुरीले कण–कण बटुलेर चाका लगाएजस्तै, सामूहिक एकताले मात्र समाज रूपान्तरण गर्दै मुलुकलाई समुन्नत र प्रगतिपथमा लैजान सकिन्छ। त्यसका लागि आम समुदायको पारस्परिक सम्बन्ध, हार्दिकता, सांस्कारिक वातावरण र छोराछोरीप्रति भेदभावरहित परिवारको आवश्यकता पर्छ।

सबै तहतप्काका नागरिकले पाउने समान हक अधिकार नै मुलुकको सौन्दर्य हो, त्यसैले लेखकहरूले गाउँबस्ती होस् या सहरका विसङ्गति र बेतिथिलाई भत्काएर सौन्र्दयीकरण गर्ने गरेको पाइन्छ।

यो उपन्यासमा पनि गाउँबाट सहर आएकी चेलीले कठोर सङ्घर्षको बाबजुत पढेर परिवारलाई सही बाटो हिँडाएको मात्र छैन, ग्रामीण भेगको पीडा र कुसंस्कारलाई जरैबाट उखेल्ने काम ‘भिरमह’ले गरेको छ।

सहरको बसाइमा व्यस्त हुँदा पनि मोबाइल हेन्डफ्री गरेर बोल्दै भान्साको काम भ्याउनुपर्ने महिलाहरूको बाध्यता भनौं या समयानुसार चल्न नसकेको? तर जस्तै समस्याहरूको चाङ लागे पनि ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै छोराछोरीले ममीलाई आफ्नो अभियानमा लाग्न प्रेरित गरेबाट अभिभावकलाई मात्र होइन, पाठकको घरघरसम्म सकारात्मक सन्देश पु¥याएको छ।

समाज परिवर्तनको अभियानमा निस्केका पात्रहरूले अनेक कठिनाइ पार गर्दै दूरदराजका अशिक्षित र उत्पीडित नागरिकहरूका आँखा खोलिदिने काम मात्र गरेको छैन, हक, अधिकार र समानताको आवाज ओकल्दै उज्ज्वल भविष्यको खोजी गर्छ।

‘भिरमह’ले कस्तो काम गर्ला र पढेर के निष्कर्षमा पुगिएला भन्ने उत्कण्ठाले एकपछि अर्को पानामा हुत्याइरहन्छ पाठकलाई। महिला र पुरुषको सहअस्तित्व समान हुनुपर्ने अभियानमा रिड नेपाल संस्थामार्फत लेखकले कतिपय महत्त्वपूर्ण छलफल र विषयहरू सोलुखुम्बुको उकाली ओराली बाटाहरू काट्ने मेसोमै सकाएको लेखनशैलीले पढ्नमा छुट्टै आनन्द दिलाउँछ।

लक्ष्य प्राप्तिका लागि निस्केका अभियन्ताहरूले घनाजङ्गलबिच बाटोमा भेटिएका बालकहरू पेम्बा र पेमासँगको भलाकुसारीले अर्को विषय थपेको देखिन्छ। त्यहाँको अशिक्षा, अभाव र गरिबीको चरम सीमाबाट पेम्बा र होटलमा भाँडा माझ्ने माइलीका बाध्यताजस्ता सवालले पढ्दा–पढ्दै ती पात्रहरूसँग साक्षात्कार गर्न मन लाग्छ।

लेखकले सहर–सहरमा मात्र बालअधिकार खोज्ने संस्थाहरूलाई दरिलो झापड दिँदै बालशिक्षा, स्वास्थ्य र बालअधिकारका कुरा जोडदार रूपमा उठाएकी छन्। कुनै ठाउँको प्रकृति, हिमाल, खोलानाला, घुम्ती अनि भन्ज्याङ चौतारी र बाटाहरूमा भेटिने चराहरूको चिरबिरसमेतलाई आख्यानभित्र समावेश गरेर रहरलाग्दो कृति बनाइएको छ।

सामान्यदेखि गम्भीर कुरा अनि त्यहाँको सेरोफेरोलाई सविस्तार वर्णन गरेको पाउँदा यात्रा संस्मरणको स्वाद पनि आउँछ। कुनै बेला मुख्य उद्देश्य र विषयवस्तुभन्दा केही पर पुर्‍याए पनि पाठकलाई सँगसँँगै हिँडाउने चलाखीपूर्ण लेखनकलाले वास्तवमै तानिरहन्छ।

कथावस्तुले डोर्‍याउँदै कहालीलाग्दो ठाडो भिरमा रहेको माहुरीको गोलामा पुर्‍याएपछि भिरमह शीर्षकको अर्थबोध होला कि भन्ने लाग्छ तर भेटिन्न। लेखकलाई जहाँ जे कुराले छुन्छ र घोत्लिन्छ, त्यहाँ अन्यायको विरुद्घ बोल्ने र समाधान खोज्ने गरेको भेटिन्छ।

माहुरीले गरेको मेहनतको फल मान्छेले खोसेर प्रयोग गर्दा र पसिनाको कमाइ हनन भएकोमा ‘मह बनाउने माहुरी, हक जमाउने मान्छे’ लेखकको विद्रोही चेत भेटिन्छ।

जेन्डरसम्बन्धी जनजागरण कार्यक्रम सोलुखुम्बु क्षेत्रमा मात्र होइन, नेपालको सारा भूगोलमा पुर्‍याउनुपर्छ, नत्र शोषित पीडितहरू जहिल्यै उस्तै, अझ घरेलुहिंसा त नदेखिने डरलाग्दो रोग हो।

श्रीमती सधैं पुरुषको दासी भएर सेवा गर्नुपर्ने, राजस्वला हुँदा हेलाको दृष्टिकोणमा झेलिनुपर्ने, एकै धर्सो सिन्दुरले गोत्र फेर्नुपर्ने, श्रीमान्का लागि व्रत बस्नुपर्ने, पुरुषले चाहेमा जायज हुने श्रीमतीले चाहेमा वेश्या हुने, खुट्टा पखालेको पानी खानुपर्ने जस्ता कुरालाई उठान गरेर अशिक्षित, पिछडिएको र हेलितवर्गको हितमा दौडिएको यो उपन्यास बासादेखि बुङ्गसम्मको सचेतना तालिममा भए गरेका कार्यहरू पठनीय र जीवनोपयोगी छन्।

 लोकल कुखुरादेखि होटलको बनावट र खानाको परिकार, स्थानीय खानेकुराको प्रचार, महिलाहरूको शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूलाई आख्यानले बहसको विषय बनाउन सक्छ, जो समय सान्दर्भिक छ। आफ्नै सन्तानबिच छोराछोरीमा हुने विभेदकारी व्यवहारले प्रश्न उब्जन्छ, ‘के छोरी दान दिने वस्तु हो?’

कन्यादानको प्रसङ्गलाई उठाएर समाज र राज्यको सम्बन्धित निकायलाई झकझकाएको पाइन्छ। गाउँलेहरूको सोचलाई परिवर्तन गर्न कुनै ठाउँ झ्याउरे गीत र साङ्गीतिक कार्यक्रमहरू गरेर फरकफरक तरिकाले पाठकलाई मूलधारको विषयतिर केन्द्रित गर्ने कोसिस गरेको छ। कोइलीको कुहुकुहु, बिहानीमा भाले बासेको, भरियाले दिएको सुझाव र बोल्दा ‘एहोइ’को थेगोले मिठास भरिएको छ ।

महिला र पिछडिएको वर्गका लागि गोठदेखि भान्सासम्म, गाउँदेखि सहर र सडकसम्म आवाज उठाउँदै भिरमहका पात्रहरू अन्यायविरुद्घ लागि पर्छन्। महिलाहरूले आफ्नो जीवनको योजना आफैं बनाउनुपर्ने, कुन उमेरमा विवाह गर्ने, कुन उमेरमा बच्चा जन्माउने, कुन बेला सामाजिक काम गर्नेजस्ता विषयमा सचेत ध्यान दिनुपर्ने हो तर श्रीमान् र सासूससुराको डर त्रासका कारण सधैं सतर्क भइरहनुपर्ने अवस्था समाजमा छ। यस्तो त्रासबाट मुक्त गराउने महत्त्वपूर्ण सन्दर्भहरू उपन्यासमा उनिएका छन्।

 ‘पेसेवर वेश्याले आफूलाई इच्छा नभए नकार्न र प्रतिकार गर्न सक्छे भने एउटी श्रीमतीले श्रीमान्को इच्छालाई सजिलै नकार्न सक्दिन र जबरजस्ती गर्छ।’

हाम्रो समाजको घटना परिघटनालाई अलिकति पनि कन्जुस्याइँ नगरी प्रस्तुत गरिएको आख्यानमा तीन चौथाइ शरीर नाङ्गो देखाउनेलाई सुन्दरताले परिभाषित गर्ने, चौध वर्षकी रेखा दमाईंलाई महिनावारी हुँदा छाउपडीमा राखेर मृत्यु गराउने र चौरासी वर्षकी हजुरआमाहरूलाई बोक्सीको आरोपमा डाम्ने समाज अनि मेडम क्युरी, पासाङ ल्हामु शेर्पा, सीता, मदर टेरेसाजस्ता महिलाहरूबाट हामीले के सिक्यौं वा हामीले के गर्न सक्याैं भन्ने खोजमूलक सन्देश पनि दिन खोजिएको छ।

फेरि यता अरब गएको श्रीमान् दश वर्षसम्म नआउँदा सुन्तलीलाई अचाक्ली छटपटी भएपछि ‘पैसा मात्र पठाएर हुन्छ ? के पैसाले यौन चाहना पूरा गर्न सक्छ?’ भन्ने भनाइले यौन अनिवार्य कि विरोधाभास? यता वीरमान र फूलकुमारीको संवादले केही राहतको महसुस गराउँछ।

गाडीमा सवार गर्दा पनि त्यहीं नै पात्र खडा गरेर चुरोट, रक्सीलगायतको सेवनबाट सचेत गराउँदै पाठ पढाइहाल्ने लेखनशैली प्रशंसनीय छ। स्नोपी कुकुर, सुन्तली, मेघा र माइलीलाई एकै ठाउँ उभ्याएर हेर्दा ती पात्रहरूमा देखिएको असमान व्यवहारले पाठकलाई तर्क गर्न बाध्य बनाउँछ।

महिला हिंसा, बालश्रम शोषणविरुद्घ अभियान चलाउनेहरूले सुन्तलीजस्ती बच्चीलाई पढ्नबाट वञ्चित गराएर कुकुरलाई भन्दा तल्लो स्तरमा राखेको प्रसङ्गले कमाई खाने भाँडो बनाएका संस्थाहरूको ध्यान केन्द्रित गराएका छन् ।

समग्रमा भन्नुपर्दा म पात्रलाई यथार्थपरक र नारीवादी चरित्रमा चित्रण गरिएको छ। सकारात्मक सोचविचारको अभियानले महिला र विभेदमा परेकाहरूको ‘भिरमह’ एउटा नजिर बनेको छ। भाषाशैली सरल र सरस भए पनि संवादहरू कुनै ठाउँ एकतर्फी भएजस्तो। महिलाप्रधान उपन्यासको आदिखण्डमा सहरको शिक्षित परिवारबाट उठान गरिएको कथानक प्रस्तुतिले सोलुको दुर्गम गाउँमा जनचेतनाको आभाले परिवर्तन ल्याएको छ।

कथागत संरचनाले सुरुमा फड्को मारेजस्तो लागे पनि बिस्तारै लयमा फर्किएको छ। कथावस्तुलाई सलल बगाउन मुख्य पात्र म बहुत सक्रिय हुन्छे र जहाँ पनि फटाफट पुग्ने, ट्रेनर पनि आफैं, काम गर्ने र हाइहाई पनि पाइरहन्छे। मध्यखण्डमा सोलुको बासा, बुङ्गको सेरोफेरोमा रहेका सबैलाई जागृति गराई गाउँलेहरूको आत्मबल बढाएको, बोल्ने र केही गर्ने आँट जगाएको प्रस्तुतीकरणले उपन्यासलाई खँदिलो बनाएको छ।

सहायक पात्रहरू केशव, रमेश सर, कृष्ण सर, सरिता मिस, पेम्बा, रेखा, गीता, माइली, वीरमान, कौशिका, सुन्तलीको प्रवृत्ति, घटना र परिवेशानुसारको चरित्रचित्रणले कथाशृङ्खलाको फैलावटलाई विचलित हुनबाट जोगाएको छ।

भरिया, भाँडा माझ्ने, ड्राइभरजस्ता श्रमजीवी पात्रहरूको कथात्मक भूमिकाले सानातिना पुलको काम गरेको छ। सुरुमा माइलीलाई भाँडा माझेको भेट्दा बालश्रमको कुरा किन उठाइएन? उपन्यासको अन्तिम खण्डमा भाँडा माझ्ने माइलीलाई सहर ल्याउनु र मुख्य पात्रले स्कुल पढाउनु अनि गाउँमा मेडम भन्ने माइलीले ममी भन्ने सामर्थ्य राख्नु नै ‘भिरमह’को मुख्य कथासार हुन सक्छ। तर बाह्र तेह्र वर्षकी माइलीले कुनैकुनै ठाउँमा गरेका संवादहरू परिपक्वजस्ता, अलि नमिलेको हो कि!  

प्रकाशित: १५ असार २०८१ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App