१९ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

मलेसियाको थुनुवा केन्द्रमा नेपाली कामदारमाथि शोषण, तत्काल उद्धार गर्न सुझाव

मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेसन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि अत्यधिक शोषण हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले संयुक्तरूपमा गरेको अध्ययनले थुनुवा केन्द्रमा रहेका नेपाली श्रमिकमाथि विगतमा भन्दा अहिले शोषण बढेको देखाएको हो । आइतबार सार्वजनिक उक्त प्रतिवेदनमा मलेसियाको डिपोर्टटेसन सेन्टर बसेर नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकहरुको अध्ययन गरिएको उल्लेख छ ।  

प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अधिकारीहरुसँग समन्वय गरी उनीहरुको उद्धार तथा उपचारका लागि मलेसियास्थित नेपाली दूतावासलाई सुझाव दिएको छ। कारागार र थुनुवा केन्द्रमा नेपाली श्रमिकको अनुगमन र नियन्त्रण गर्न स्थानीय निकायसँग समन्वय आवश्यक रहेको औंल्याउँदै प्रतिवेदनले जेल र डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षा समेत नपाएको उल्लेख गरेको छ ।  

मलेसियामा नेपाली श्रमिकका लागि कानुनी चुनौतीहरू सम्बोधन गराउन आवश्यक पर्ने परामर्श सेवा महंगो पर्ने उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘वकिल राख्दा उच्च लागत लाग्ने गरेको छ । समयमा वकिल नियुक्त गर्न नसक्दा मुद्दाको सुनुवाईमा ढिलाइ हुँदा श्रमिक र उनीहरूका परिवारलाई तनाव दिन्छ।’

मलेसियामा सम्बन्धित कम्पनी छाड्ने क्रम बढेसँगै पक्राउ पर्ने नेपालीको संख्या पनि उच्च छ । कम्पनी छाडेर हिड्नाले पक्राउ पर्नेको संख्या सबैभन्दा बढी ६१ प्रतिशत रहने गरेको पाइएको छ । नेपालीहरु सहकर्मी वा रोजगारदातासँग झगडा, हत्या, चोरी, अवैध लागूऔषध सेवन र बिक्री, नक्कली मदिराको बिक्री, जुवा र अपहरण गर्ने मुद्दामा जेलमा पर्ने गरेको तथ्याङ्कले देखाउँछ । 

प्रकाशित: १७ असार २०८१ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App