१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङका पालिका तथा वडाको घोषणा: मृतक सदस्यका आफन्तलाई १० हजार र सुत्केरी खर्च ५ हजार

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक वर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ।फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडाध्यक्ष क्षितिज सुनुवारले मृत्यु भएका वडाभरीका नागरिकका आफन्तलाई नगद १० हजार रुपैयाँ क्रियाखर्च उपलब्ध गराउने बताए।

‘वडाभरीका नागरिक मृत्यु भएमा काजक्रिया अवधिमै मृतक सदस्यका आफन्तलाई यस्तो सहयोग उपलब्ध गराइने छ’, उनले भने। यस्तै वडाभरीका सुत्केरीहरुलाई जनही ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री लिएर वडाका पदाधिकारीहरु सुत्केरी सदस्यको घरघरमै जाने व्यवस्था गरिएको समेत सुनुवारले जानकारी दिए।

पोषण सामग्रीमा घिउ,कुखुरा,अण्डा,हर्लिक्स,चना,मटर,ज्वानो सहितका सामग्रीको प्याकेट तयार गर्ने वडाले योजना बनाएको जनाएको छ। यसअघि वडाले वडाभरीका ७ वटा विद्यालयमा उत्कृष्ट हुने प्रत्येक बिद्यालयका तीनजना गरी २१ जना विद्यार्थी,उत्कृष्ट ७ शिक्षक र उत्कृष्ट ७ बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई पुरस्कृत तथा सम्मानित गर्ने घोषणा गरिसकेको छ।

७ वटा विद्यालयहरुमा अध्ययरत विद्यार्थीमध्ये विद्यालयमा नियमित उपस्थित,सरसफाईमा ध्यान दिने,पढाईमा लगनशिल,जेहेन्दार र इमान्दार हुने प्रत्येक विद्यालयका तीनजना विद्यार्थी पुरस्कृत हुनेछन्। पहिलो हुनेलाई नगद १५ हजार,द्धितीय हुनेलाई नगद १० हजार र तृतीय हुनेलाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिने सुनुवारले जानकारी दिए।

यस्तै,वडाभरी रहेका प्रत्येक बिद्यालयका उत्कृष्ट शिक्षकलाई नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको छ। वडाभरी रहेका बिद्यालयका उत्कृष्ट विद्यालय व्यवस्थापन समिति र उत्कृष्ट शिक्षक अभिभावक संघका अध्यक्ष समेत पुरस्कृत तथा सम्मानित हुनेछन्।

उता,सिरिजङ्गा गाउँपालिकाले बजेटमै पालिकाभरीका नागरिकको मृत्यु भएका उनीहरुका आफन्तलाई क्रिया खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ।

मृत्यु जस्तो दुःखको क्षणमा मृतकका आफन्तलाई परेको मार्काप्रति पालिकाकोतर्फबाट सहानुभूति स्वरुप बजेटमा यस्तो व्यवस्था गरिएको पालिका अध्यक्ष लालकृष्ण चौहानले बताए।

प्रकाशित: १७ असार २०८१ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App