१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

अनुभवी भारतलाई दक्षिण अफ्रिकाको चुनौती

इङ्ल्यान्डलाई हराउँदै आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको भारत एक दशकपछि पहिलो पटक ठूलो उपाधि जित्ने संघारमा छ। भारतमा क्रिकेटको अपार लोकप्रियता छ। इन्डियन प्रिमियर लिग (आइपिएल) ले राम्रो पारिश्रमिक दिने र रोचक प्रतिस्पर्धा गराउने भएका कारण ट्वान्टी–२० खेलको केन्द्रबिन्दु यही राष्ट्र बनेको छ।

तापनि भारतले ट्वान्टी–२० विश्वकप एक पटक मात्र जितेको छ, १७ वर्षअघि सन् २००७ मा। त्यसपछि सन् २०१३ मा भारत अन्तिम पटक आइसिसी प्रतियोगिताको रूपमा च्याम्पियन्स ट्रफी जित्न सफल भएको थियो। गत वर्ष नोभेम्बर १९ मा घरेलु मैदान अहमदाबादमा आयोजित ५० ओभरको विश्वकपमा भारत उपाधिनजिक पुगेको थियो।

तर, उपाधि भिडन्तमा अस्ट्रेलियासँग ६ विकेटले पराजित हुँदा एक अर्ब ४० करोड समर्थकको मन नराम्ररी कँुडिएको थियो । शनिबार बार्बाडोसमा दक्षिण अफ्रिकाविरुद्धको फाइनल खेलमा यो टोली त्यो नरमाइलो पललाई बिर्साउने प्रयासमा हुनेछ। गुयनामा भएको सेमिफाइनलमा कप्तान रोहित शर्माले ५७ रन बनाएपछि भारतले डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई ६८ रनले पराजित गरेको थियो।

अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका ओपनरको यो प्रतियोगितामा तेस्रो अर्धशतक हो। इङ्ल्यान्डलाई १०३ रनमा समेट्न बायाँ हाते स्पिनर कुलदीप यादव र अक्षर पटेलले समान तीन/तीन विकेट लिएका थिए। इङ्ल्यान्डलाई हराएपछि रोहितको टोली उपाधिको प्रबल दाबेदार मानिएको छ। भारतीय टोलीको संरचना क्यारेबियन राष्ट्रको पिचअनुसार छ । ‘लामो समयदेखि फाइनलमा भारतले समस्या झेलिरहेको छ।

तर, दक्षिण अफ्रिकाले हामीविरुद्ध कुनै चुनौती खडा गर्न सक्छजस्तो मलाई लाग्दैन,’ गुयानाबाट बार्बाडोसको उडानमा प्रशिक्षक राहुद द्रविडले भने, ‘भारत प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट टोली हो र दक्षिण अफ्रिका म्यान टु म्यानको हिसाबले कमजोर टिमजस्तो देखिन्छ।’

सन् २००७ मा क्यारेबियन भूमिमा भएको एकदिवसीय विश्वकपमा द्रविडले भारतीय टोलीको कप्तानी गरेका थिए।

तर, उक्त प्रतियोगितामा टोली प्रारम्भिक चरणबाटै बाहिरियो । यसपटक उनकै प्रशिक्षणमा टोली अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ । यसअघि नै यो प्रतियोगिता सकिएसँगै प्रशिक्षकको जिम्मेवारी छाड्ने घोषणा गरिसकेका उनलाई टोली अविस्मरणीय बिदाइ दिने प्रयासमा हुनेछ।

‘भारतले कुनै पनि विश्वकप उपाधि नजितेको धेरै समय भइसक्यो। यदि भारतले शनिबार उपाधि जित्न सक्यो भने यो निवर्तमान प्रशिक्षक राहुल द्रविडका लागि उपयुक्त फिनाले हुनेछ,’ पूर्वकप्तान महेन्द्रसिंह धोनीले एएफपीसँग भने।

अन्तिम खेलमा यसअघिकै ‘प्लेइङ इलेभेन’लाई भारतले पक्कै पनि निरन्तरता दिनेछ। तर, टोलीले कम्तीमा दुई खेलाडीबाट बलियो प्रदर्शनको अपेक्षा गर्नेछ। रोयल च्यालेन्जर्स बैङ्लुरूबाट आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका अनुभवी विराट कोहलीबाट भारतीय टोलीले विश्वकपमा यस्तै प्रदर्शनको अपेक्षा गरेको थियो। तर, त्यो अपेक्षा उनले अहिलेसम्म पूरा गर्न सकेका छैनन्। टोलीका पूर्वकप्तानसमेत रहेका उनले आक्रामक रणनीति अपनाउने भरमग्दुर प्रयास गरेका छन्।

तर, बलरमाथि हावी हुन नसकेका उनले सात इनिङमा ७५ रन मात्रै बनाएका छन्। यद्यपि, उनका ओपनिङ पार्टनर तथा कप्तान रोहित उनको बचाउ गर्दै भन्छन्, ‘१५ वर्षसम्म खेलेका उनको फर्ममा कुनै समस्या छैन। सायद उनले फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन्।’ कोहली र रोहितको यो नै अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्छ। तर, कोहलीको विपरीत धु्रवमा उभिएका रोहितले प्रतियोगितामा निडर र एकनाससित ब्याटिङ गरिरहेका छन्। उनले सात इनिङमा २४८ रन बनाएका छन्। फाइनलमा उनीबाट टोलीले यस्तै सुरुआतको अपेक्षा गर्नेछ।

भारतीय कप्तान रोहितले दबाबपूर्ण खेलमा शिवम् दुबेबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछन्। प्रतियोगितामा अहिलेसम्म कमजोर प्रदर्शन गरे पनि केशव महाराज र तबरेज सम्सीजस्ता स्पिनरविरुद्ध ठूला सट खेलेर आफूलाई प्रमाणित गर्ने मौका उनलाई छ।

मध्यक्रमका ऋषभ पन्त र सूर्यकुमार यादव आक्रामक ब्याटिङ गरिरहेका छन् भने हार्दिक पाण्ड्या, अक्षर पटेल र रवीन्द्र जडेजाले सानो, तर प्रभावकारी इनिङ खेलेका छन्। बलिङ ‘डिपार्ट’ मा तीव्र गतिका बलर र स्पिनर दुवैले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरिरहेकाले भारतलाई चिन्ता गर्नुपर्ने कुनै कारण छैन।

‘हाम्रा बलरहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अक्षर र कुलदीप अद्भुत स्पिनरहरू हुन्। उनीहरूविरुद्ध रन बनाउन गाह्रो छ। दबाबमा पनि यी दुईले शान्त भएर आफ्नो काम गरिरहेका छन्,’ रोहितले भने। इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेल सकिएलगत्तै टोलीले आराम गर्न र ‘रिकभर’ हुन एक दिन मात्र समय पाएको छ। यद्यपि, यो ‘ट्रेन्ड’ ‘सुपर एट’देखि नै जारी छ। दक्षिण अफ्रिकाले भने फाइनलभन्दा एक दिनअघि अतिरिक्त समय पाएको छ र शुक्रबार अभ्यास गरेको छ।

दक्षिण अफ्रिका सन् १९९८ पछि पहिलो पटक आइसिसी प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो। आइसिसी प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिकाले एक मात्र जित सन् १९९८ को च्याम्पियन्स ट्रफी (त्यति बेला यसलाई आइसिसी नकआउट ट्रफीको नाम दिइएको थियो) मा हासिल गरेको थियो। त्यसपछि सन् २००० को च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग ९५ रनले पराजित भएपछि दक्षिण अफ्रिका ‘चोकर्स’ को नामले परिचित हुन थाल्यो। ‘चोकर्स’ चोक शब्दबाट उत्पत्ति भएको हो।

जसको अर्थ महत्त्पूर्ण क्षणहरूमा अड्किनु वा रोक्नु हुन्छ। दक्षिण अफ्रिकाको अवस्था पनि त्यस्तै छ । यो टोली जहिल्यै ठूला र नकआउट चरणमा रोकिँदै आएको छ। यही कारणले गर्दा यो शक्तिशाली टोलीले ‘चोकर्स’को उपनाम पाएको छ। तर, ट्रिनिडाडमा अफगानिस्तानविरुद्धको सेमिफाइनलमा जित हात पारेसँगै यो ‘ट्याग’ केही हदसम्म हटेको छ। तीन दशकपछि आइसिसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको यो टोलीले उपाधि खेलमा पनि यो ‘ट्याग’लाई मेटाउने प्रयास गर्नेछ।

क्विन्टन डी कक र रिजा हेन्ड्रिक्सको ओपनिङ जोडीबाट यो टोलीले ठूलो इनिङको अपेक्षा गर्नेछ । विशेष गरी अनुभवी विकेटकिपर ब्याट्सम्यानबाट डी ककले विपक्षी टोलीका बलरलाई दबाबमा राख्न सक्छन्। जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा उनी शीर्ष १० भित्र परेका एक मात्र दक्षिण अफ्रिकी ब्याटर हुन्।

उनले आठ इनिङमा दुई अर्धशतकसहित २०४ रन बनाएका छन्। कप्तान एडन मार्करामले ‘सुपर एट’ मा ठूला टोलीविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन्। तर, फाइनलमा सबै कुरा दिन तयार रहेको उनी बताउँछन्।

‘क्रिकेटको खेल यस्तै हो, कोही जित्छन् र कोही हार्छन्। जुन खेल जित्नबारे सोचको पनि हुँदैन, त्यो खेल जिते चेन्जिङ रुममा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ। अन्तिम खेलबाट यस्तै ऊर्जा उत्पन्न भएको छ। त्यसैले हामी फाइनलमा त्यो ऊर्जालाई सदुपयोग गर्न सक्दो प्रयास गर्नेछौं,’ उनले भने।

यस ‘फम्र्याट’ का सबैभन्दा खतरनाक ब्याट्सम्यानमध्येका एक हेनरिक क्लासेनलाई पनि रनको खाँचो छ। यसका लागि उनले बीचका ओभरमा स्पिनविरुद्ध संघर्ष गर्नुपर्नेछ। दक्षिण अफ्रिकाको तीव्र गतिको बलिङ ‘डिपार्ट’ ले प्रतियोगितामा प्रभावकारी छाप छोडिरहेको छ। तर, दिनको खेलमा यो ‘डिपार्ट’ कत्तिको प्रभावकारी छ, त्यो हेर्न भने बाँकी नै छ।

सम्सी र महाराज स्पिन ‘डिपार्ट’ मा प्रभावकारी बलर साबित भइरहेका छन्। नेपाललाई एक रनले हराउँदा सर्वाधिक चार विकेट लिएका सम्सीले फाइनलसम्मको यात्रा तय गर्दा ११ विकेट जोडिसकेका छन् । यस्तै, महाराजले पनि नौ विकेट लिएका छन्। भारतीय ब्याट्सम्यानलाई उनीहरूविरुद्ध कसरी ब्याटिङ गर्ने भन्ने थाहा छ। त्यसैले शनिबारको यो खेल प्रतियोगिताकै रोचक हुने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: १५ असार २०८१ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App