१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसदकाे गुनासाे: राज्यनीति कमजोर हुँदा सबै क्षेत्र लथालिंग

प्रतिनिधिसभामा सांसदहरूले राज्यको नीति कमजोर हुँदा सबैतिर लथालिंगको अवस्था आइरहेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले संविधान बन्नुभन्दा पहिला जस्तो बेथिति थियो, अहिले पनि त्यस्तै अवस्था रहेको बताए। यसलाई सुधार नगर्ने हो भने देश र जनताको अवस्था झन् दयनीय हुन पुग्ने उनीहरूको भनाइ थियो।

एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले स्वर्गीय मदन भण्डारीको जन्मदिनको अवसरमा भण्डारीले राजनीतिमा ल्याएको विचारधाराको उच्च प्रशंसा गर्दै मुलुकलाई सही दिशामा लैजाने हो भने अहिले पनि भण्डारीले लिएका नीतिलाई पछ्याउनु पर्ने बताए।

उनले मदन भण्डारीको भाषामा राज्यका सबै निकायलाई लोकतान्त्रीकरण गर्न माग गरे। उनले मदन भण्डारीको भाषामा उल्लेख गर्दै भने, ‘पुरानो सेना, प्रहरी, ब्युरोक्रेसी र न्यायालय रहिरह्यो भने प्रगितमनको परिस्थिति निर्माण गराउँछ।’

सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरू लोकतान्त्रिक हुन नसकेको प्रति राजनीतिक दलको कमजोरी रहेको बताए। राज्यका सबै संयन्त्रलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए।

उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिस लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको धारणा राखे। 

अदालत अहिले पनि केन्द्रीकृत छ। पहिला जस्तो बेथिति थियो, अहिले पनि त्यस्तै छ। त्यसलाई सुधारको जरुरी रहेको उनले बताए । उनले नेपाली सेना पंगु बनाइएको र नेपाल प्रहरीले माथिको आदेशविना उजुरी दर्ता नगर्ने प्रवृत्ति कायम रहेको बताए।

संसदीय व्यवस्थाबाट समाजवाद ल्याउने मदन भण्डारीको विचारलाई पछ्याउँदै २०७२ को संविधान जारी भएको बताए। समग्रमा यसलाई सुधार गरेर लोकतान्त्रीकरण गर्नु नै मदन भण्डारीको सन्देश रहेको पनि उनले सुनाए।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले– ‘न राज्य नीतिले चल्छ न विधि न त पद्धति, शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसामन्ती’ भन्दै कविता वाचन गरे। उनले आफूले लेखेको कविता वाचन गर्दै थपे, ‘संसद्को सार्वभौमिकता मिचियो लोकसम्मति, हरायो लौन खोजी पाऊँ शून्यमा शून्यको गति, सांसद संसद्मा बोल्छन् सम्बोधन हुन्न केही पनि, गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि । काण्डै काण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन, किन ल्याइन्न संसद्मा स्वार्थको डर हो किन?’

कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणबाट विवादास्पद टेरामक्स प्रणाली खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताए। उनले दूरसञ्चार क्षेत्रको कम आवागमनमा हुने राजस्व चुहावट रोक्न यो प्रविधि खरिद गरिएको जानकारी दिए।

‘टेरामक्सको कुरालाई लिएर पनि बेलाबेलामा तीनजना सांसदको नाम मुछिएको छ। यसबारे मेरो पनि नाम उठ्ने गरेको छ,’ सांसद बस्नेतले भने, ‘एकदम कलिला ओठ निचोरे दूध आउने माननीयज्यूहरूदेखि दारीजुँगा फुलेका माननीय ज्यूहरूसम्मले यो कुरा उठाइरहनुभएको छ, उचित दिन आएछ भने म यसको जवाफ दिनेछु।’

तर, टेरामक्स प्रणाली खरिद नहुँदा मुलुकमा वार्षिक २५ अर्ब बढी राजस्व चुहावट भइरहेको उनको दाबी थियो । ‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दालाई नियन्त्रण गर्छ।

 संसारभर यही विधिले नियन्त्रण गरेको छ भन्दै उनले नेपाल मात्रै एउटा त्यस्तो देश हो, जहाँ कल बाइपास गरेर वर्षमै करिब २५ अर्बभन्दा बढी राजस्व घोटाला भएको बताए।

घोटालामा संलग्नहरूले नै विभिन्न व्यक्तिमाथि आरोप लगाएर विषयान्तरको प्रयास भइरहेको उनले तथ्य प्रस्तुत गरे। ‘यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने रोक्ने विधि होइन भने अर्को विधि के हो? यसकारण मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ,’ उनले भने, ‘२५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने अथवा यसलाई विषयान्तर गर्न खोजेको हो, भविष्यले बताउला।’

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजाले शिक्षानीति कमजोर देखाएको कांग्रेसका सांसद प्रदीप पौडेलले बताए। यस वर्षको एसइई परीक्षामा ५२ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएकाले शिक्षानीतिमा सुधारको आवश्यकता रहेको भन्दै उनले शिक्षानीतिका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवेदनलाई पनि अध्ययन गर्नुपर्ने बताए।

शिक्षामा गुणस्तरीयता नभएकाले यस प्रकारको परिणाम आएको भन्दै उनले दुई लाख ४२ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए । ‘सरकारका असफलताका कारण विद्यार्थीलाई अयोग्य ठहराइयो,’ उनले भने, ‘सरकारले गुणस्तरीयता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपर्थ्याे तर सरकार त्यतातिर लागेन।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको हाम्रो अगाडि ठूलो प्रश्न चिह्न खडा भएको बताइन्। उनले भनिन्, ‘विद्यालयको कमजोरी हो कि? शिक्षानीतिको कमजोरी हो कि ? विद्यार्थीहरू आफ्नै कमजोरी हो? विद्यार्थी किन फेल भए अध्ययन गरेर जरो पत्ता लगाऔं।’

उनले ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु र शिक्षा प्रणाली नै असफल हुनु र सरकार असफल हुनु हो भन्दै तर्क गरिन्।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले विद्यार्थी अनुत्तीर्ण हुनुको कारणबारे अध्ययन हुनुपर्ने धारणा राखिन्। उनले ५० वर्षे पुरानो शिक्षानीतिको ढर्रा कहिले तोड्ने? भनी प्रश्नसमेत गरिन्।

प्रकाशित: १५ असार २०८१ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App