१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्छ: संसदीय समिति

संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आज शनिवार सभामुख देवराज घिमिरेलाई बुझाएको सो क्षेत्रको भूकम्प सम्बन्धी स्थलगत प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । प्रतिवेदनमा तिहार लगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन सरकारलाई सचेत गराउने कुरा उल्लेख गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

समितिले मृतकका सबै परिवारलाई राहत दिने काममा पनि ढिलाइ नगर्न सरकारलाई भनेको छ।प्रधानमन्त्रीलाई भेटेर आफूहरूले मृतकका आफन्तलाई तत्काल राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको समितिका सभापति खतिवडाले बताए । समितिले स्थानीय सरकार आत्तिएकाले राहत, उद्धार र पुनर्स्थापनाको गर्न सहज ढंगले गर्न नसक्ने अवस्था रहेको पाइएको निष्कर्ष पनि निकालेको छ।त्यसैगरी सल्यान, दैलेख, कालिकोट, हुम्ला, सुर्खेतमा पनि भूकम्पको असर परेकाले त्यतातिर पनि ध्यान दिन समितिले सरकारलाई भनेको छ।

प्रतिवेदनमा अबको ६ महिना भित्र पीडितका लागि भूकम्प प्रतिरोधी आवास बनाउने काम सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । समितिले त्यस क्रममा प्रदेश सरकार, प्रदेश संसदका पदाधिकारीहरूसँग पनि छलफल गरी पीडितलाई आवश्यक राहतको व्यवस्था गर्न आग्रह गरेको थियो।

यता, समितिको प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले समितिले पीडाका बेला संसदले पनि केही गर्न सक्दो रहेछ भन्ने सन्देश दिएको उल्लेख गर्दै स्थलगत अनुगमन गएका समितिका सांसदहरूलाई धन्यवाद व्यक्त गरेका थिए।त्यस अवसरमा उनले तिहार सकिने बित्तिकै राहतका लागि आवश्यक व्यवस्था मिलाउने कुरामा सबैले ध्यान दिनुपर्ने बताए।

सभामुख घिमिरेले भूकम्प पीडितहरूको अवस्था बुझ्नका लागि आफैँले खर्च व्यवस्थापन गरेर समितिका सांसदहरू गएको भन्दै खुसी व्यक्त गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०८० ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App