१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदको भूमिका प्रभावकारी हुन सकेको छैन: उपनेता तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउँछन्। “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ। तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन। जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन। सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उनी भन्छन्।

विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसदमा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका निर्वाह हुन नसकेको सांसद तामाङको भनाइ छ।

संसदीय अभ्यासमा सरकारको काम-कारबाहीको मूल्याङ्कन गरी रचनात्मक आलोचना गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी तुल्याउने, सरकारका कमीकमजोरीको आलोचना गरी सरकारका काम-कारबाहीको प्रभावकारिता अभिवृद्धिका लागि लोकतान्त्रिक सरकारको सहयोगी भूमिका निर्वाहबाट निरङ्कुश र स्वेच्छाचारी हुनबाट सरकारलाई रोक्ने, सरकारका काम-कारबाहीउपर निगरानी राख्ने लगायतका भूमिका प्रतिपक्षको हुने उनी बताउँछन्।

रापप्रपा संसदीय दलको उपनेता समेत रहेका तामाङ संसदीय अभ्यासलाई मजबुत बनाउन प्रतिपक्षको आवाजलाई सम्बोधन गर्न सरकार तत्पर रहनुपर्ने बताउँछन्। “बहुदलीय व्यवस्थामा मुख्यतः संसद् प्रतिपक्षको हो। सरकारले नदेखेका, गलत गरेका विषयमाथि झक्झक्याउने, सरकारलाई सही मार्गदर्शनमा हिंडाउन प्रतिपक्ष तत्पर छ तर प्रतिपक्षको आवाज सुन्न सरकार तत्पर छैन”, सांसद तामाङ बताउँछन्।

पञ्चायतकालदेखि राजनीतिक अनुभव लिएका सांसद तामाङ अहिलेको जस्तो फिक्का अधिवेशन कहिल्यै नभएको जिकिर गर्छन्।

गरिमामय संसदलाई मर्यादित र अनुशासित बनाउन संसदीय भाषालाई हरेक सांसदले अनुसरण गर्नुपर्ने उनको धारणा छ। सांसदले सरकारप्रति आरोप लगाउनु संसदीय अभ्यासमा स्वभाविक रहेको तर सोही आरोप ठीक वा बेठिक भन्नेमा सरकार र जनता दुवैले छुट्याउन सक्नुपर्नेमा सांसद तामाङको भनाइ छ।

पछिल्लो समय भड्किलो चुनावी प्रसारप्रचार लगायतका कुप्रचार प्रवृत्तिका कारण जनताको सेवामा समर्पित सामान्य नागरिक चुनाव लड्न नसक्ने वातावरण सिर्जना हुँदै गएको सांसद तामाङले बताए।

“पैसाले टिकट, पद किन्ने परिस्थिति निर्माण हुँदै गएको छ। यस्ता गलत प्रवित्त नै मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण बनेको छ। सिधासाधा व्यक्तिलाई त चुनाव लड्ने वातावरण नै छैन”, उनी भन्छन्।

मुलुकुको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय हितअनुकूल कार्य गर्न समयमै सबै मिलेर सल्लाह र सहमतिमा वर्तमान चुनावी प्रक्रियामा सुधार गर्नुपर्नेमा सांसद तामाङ जोड दिनुहुन्छ।

“समयैमा सबै मिलेर सल्लाह र सहमतिमा अहिलेको चुनावी प्रक्रियालाई परिर्वतन गर्नुपर्छ। अहिले मुलुकको अवस्था विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ”, सांसद तामाङ बताउँछन्। पञ्चायकालदेखि हालसम्म उनी छ पटक चुनाव लडेकामा चारपटक निर्वाचित भए। तामाङ हाल प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्छन्।

प्रकाशित: २४ कार्तिक २०८० ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App