उदयपुरमा पहिलो पटक आयोजना हुन लागेको ‘नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को सम्पूर्ण तयारी पूरा भएको छ। चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा माघ १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा डिभिजन स्तरका आठ टिम सहभागी हुने आयोजक बसाहा क्लबले जनाएको छ।
बसाहा क्लबका अध्यक्ष दिनेश राईका अनुसार राणाविरोधी आन्दोलनका क्रान्ति योद्धा नारदमुनि थुलुङ राईको स्मृतिमा यो प्रतियोगिता ११औँ संस्करणका रूपमा आयोजना गरिएको हो। प्रतियोगिताको उद्घाटन खेल माघ १५ गते घरेलु टिम बसाहा क्लब र योङ ब्रदर्स क्लब इटहरी सुनसरीबीच हुनेछ। त्यसपछि सिराहाको सहलेश युवा क्लब, दमक फुटबल एकेडेमी झापा, न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरी, नेपाल खेलकुद क्लब रौतहट, सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं र एलएक्स सिटी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ।
नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको सेमिफाइनल माघ १९ र २० गते तथा फाइनल माघ २२ गते हुनेछ। यस वर्षदेखि थुलुङको स्मृति दिवसको अवसर पारेर फाइनल खेल आयोजना गर्ने नयाँ अभ्यास सुरु गरिएको अध्यक्ष राईले बताए। उदयपुरकै सबैभन्दा ठूलो पुरस्कार राशीको यो गोल्डकपमा विजेता टिमले ट्रफीसहित पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विधागत उत्कृष्ट खेलाडी र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगदसहित सम्मान गरिनेछ।
प्रकाशित: १४ माघ २०८२ २१:३२ बुधबार





