१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास

खर्च थेग्न नसक्ने भन्दै उत्तर कोरियाले नेपालस्थित उसको राजदूतावास बन्द गर्ने जानकारी गराएको भोलिपल्ट नेपालले भने पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय गर्दै राजदूत सिफारिस गरेको छ। पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो। 

‘उत्तर कोरियाले आर्थिक संकट देखाएर काठमाडौंस्थित राजदूतावास बन्द गर्ने जानकारी दियो तर कर्मचारीलाई तलब खुवाउन ऋण लिएको नेपालले भने पोर्चुगलमा राजदूतावास खोलेर राजदूतसमेत सिफारिस गर्‍यो’, प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारीले भने। ती कर्मचारीका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण पूर्वाधार निर्माण अलपत्र परेको, कर्मचारीलाई तलब भत्ता खुवाउन कठिन भएको र मुलुक नै आर्थिक संकटमा पर्ने संकेत देखिँदा पनि सरकारले राजदूतावास खोलेर थप आर्थिक व्यभार बढाएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजनीतिक दबाब र सरकारमै असर पर्ने भएपछि पोर्चुगलमा राजदूतावास खोल्ने र राजदूत सिफारिस निर्णय भएको हो। ‘कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा नयाँ दूतावास खोल्ने निर्णय भएको हो,’ स्रोतले भन्यो, ‘राजदूत सिफारिस पनि कांग्रेसकै कोटाबाट भएको छ।’

सत्तागठबन्धन दलका प्रमुख नेता एवं कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस विषयमा दबाब दिएका थिए। कांग्रेस कोटाबाट राजदूतमा सनिल नेपाल सिफारिस भएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग निकट रहेका उनको कांग्रेस नेताहरूसँग पनि राम्रो सम्बन्ध छ। कांग्रेस नेता शशांक कोइराला र उद्योगपति एवं सांसद विनोद चौधरीसँग पनि उनी निकट छन्। उनी एक अनलाइनका सञ्चालक र प्रकाशक पनि हुन। ‘उनको नियुक्तिका लागि व्यापक चलखेल भयो, नत्र अहिले नै उनकै लागि भनेर पोर्चुगलमा राजदूतावास खोल्नुपर्ने निर्णय हुँदैनथ्यो’, कांग्रेसका एक नेताले भने, ‘कूटनीतिक क्षेत्रमा पोख्त रहेका व्यक्तिहरू हुँदाहुँदै उनलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गर्नुका पछाडि केही न केही स्वार्थ रहेको आशंका छ।’

विभिन्न मुलुकमा नेपालका ३० आवासीय दूतावास, तीन स्थायी नियोग र सात महावाणिज्य दूतावास गरी ४० वटा कूटनितिक नियोग छन्। जसका लागि राज्य कोषबाट हरेक वर्ष अर्बौं रुपैयाँ खर्च हुने गरेको छ। तर प्रतिफल नआएको भन्दै व्यापक आलोचना भैरहेको छ। सरकारले नियुक्त गरेका राजदूतहरूले कूटनीतिक रुपमा काम गर्न नसकेको र बेलाबखत कूटनीतिक मर्यादा बाहिर गएर काम गरेको समाचारसमेत आउने गरेका छन्। कूटनीतिक क्षेत्रमा काम नगरेका व्यक्तिलाई राजदूत बनाउँदा देशले लाभ लिन नसकेको टिप्पणी पनि भइरहेका छन्। विदेशमा नेपाली राजदूतावास धेरै भएकाले कटौतीको प्रस्तावसमेत गरिएको थियो। तर सरकारले यी सबै कुरालाई बेवास्ता गर्दै पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेको हो।

प्रकाशित: २४ कार्तिक २०८० ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App