१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

हिउँदे अधिवेशनसम्म नयाँ संसद् भवन नबन्ने

तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको संघीय संसद् भवनको भौतिक प्रगति हालसम्म ७५ प्रतिशत मात्रै भएको छ।

सभाहल मात्रै तयार भएमा संसद्को बैठक राख्न खोजिएको छ। बाँकी काम विस्तारै गर्दै जाने तर बैठक कक्षलाई छिटो तयार गर्न सभामुख नै लागिपरेका छन्। सभामुख देवराज घिमिरेले आयोजना प्रमुखसँग मंगलबार यसबारे जानकारी लिएका थिए।

उनले गत जेठमा निर्माणाधीन भवन अवलोकन पनि गरेका थिए। उनले सम्भव भएसम्म आगामी हिँउदे अधिवेशन नयाँ भवनमा राख्न खोजेका छन्। ठेकेदार कम्पनीले आउँदो हिउँदे अधिवेशन सुरु हुने समय आगामी पुस महिनासम्ममा पाँचवटा भवन तयार हुने बताएको छ। तर विभिन्न प्रविधिको जडान गर्नका लागि हिउँदे अधिवेशन सुरु हुने समयसम्ममा सम्भव भने नहुने देखिएको संसद् सचिवालयका अधिकारी बताउँछन्।

सरकारले २०७६ असोज १६ गते सिंहदरबार परिसरको पुतली बगैंचामा संघीय संसद् भवन निर्माणका लागि कम्पनीसँग सम्झौता गरेको थियो।

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी ‘टुण्डी सेक जोइन भेन्चर’ बीच सम्झौता भएको थियो। एक सय ५१ रोपनीमा ठूला साना गरी ११ वटा भवन निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटाको छानासम्मको काम भएको जनाइएको छ।

आयोजना निर्देशक मच्चाकाजी महर्जनले ६ महिनाभित्र पूरै निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको तथा सदनमा नवीनतम्  गुणस्तरीय उपकरण जडानको काम अघि बढिरहेको बताए।

सरकारले हालसम्म बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्को पूर्ण सदनमा काम कारबाही गर्दै आएको छ। सञ्चार, साउण्ड सिष्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एसियामै नयाँ उपकरण जडान हुनेगरी काम भएको जनाएको छ।

छलफलमा उपस्थित आयोजना निर्देशक महर्जनले नयाँ संसद् भवनका ११ मध्ये ७ वटा भवनको छाना छाउने काम भइरहेको बताए। सम्पूर्णमा ७५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ थियो। सरकारले १ सय ७३ रोपनी ८ आना जग्गामा संघीय संसद् भवनको निर्माण गरिरहेको छ। निर्माण सुरु गरेको तीन वर्षमा अर्थात् २०७८ मा काम सम्पन्न गरी संसद् बैठक बस्न सुरु गर्ने भनिए पनि कोभिडलगायतको कारण देखाउँदै पटकपटक म्याद थपिँदै आएको छ।

सरकारले चालु आर्थिक वर्षमा भवन निर्माण विनियोजन तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ। संसद् भवनभित्र मुख्य भवन आठवटा हुनेछन्। भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने साना ठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन्।

यसका चार अतिरिक्त विशिष्ट कक्ष, दुई सचिवालय भवन, लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः एक सय र तीन सयजना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ। छलफलमा उपस्थित सहरी विकासमन्त्री सीता गुरुङले पनि हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्न सकिनेगरी नै निर्माणको काम अघि बढेको बताएकी थिइन्।

सहरी विकास मन्त्रालयले निर्माण सुरु गर्दा सात अर्ब ७३ करोड ५२ लाख रूपैयाँ लागत अनुमान गरेको थियो। निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण सक्ने भन्दै ठेक्का पारेको थियो।  

प्रकाशित: २२ कार्तिक २०८० ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App