२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने, यस्तो छ तयारी

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उनको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासचिव गुटेरेसले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि प्रारम्भिक तयारी पूरा भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।  

उनले संयुक्त बैठकका लागि प्रारम्भिक तयारी गरिएको भन्दै बैठकको सुरुमा महासचिव गुटेरेसले सम्बोधन गर्ने जानकारी दिए।  

महासचिव गुटेरेसले नेपालमा शान्ति स्थापना, सङ्क्रमणकालीन न्याय, जलवायु परिवर्तनले नेपालमा परेको असर, संयुक्त राष्ट्र सङ्घले गर्दै आएका विभिन्न काम लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ। गुटेरेसको सम्बोधन पनि उनलाई धन्यवाद दिने कार्यक्रम समेत रहेको छ।

संयुक्त बैठकमा सहभागी हुन दुबै संसदले सबै सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि पनि आग्रह गरेको छ।  

गुटेरेसले सम्बोधन गर्ने समयमा उपस्थित हुन संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रार, न्याय परिषद् सचिवालयका सचिव, महान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ता, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, उपराष्ट्रपति कार्यालयका सचिव, महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, भाषा आयोगका पदाधिकारीहरूलाई निमन्त्रणा गरेको छ।  

त्यस्तै नेपाल कानुन आयोगका पदाधिकारी, सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ।  

प्रकाशित: १४ कार्तिक २०८० ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App