प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक शनिबार गरिएको छ।
वासुदेव त्रिपाठी, विद्यानाथ उपाध्याय, जीवेन्द्रदेव गिरी र नीलमणि ढुंगाना, केदार न्यौपाने र दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पोख्रेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक गरिएको हो।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक पोख्रेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गरेका हुन्।
पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेखेको उक्त अनुसन्धानलाई नीलमणि ढुंगानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशन गरिएको हो।
पुराणमध्ये स्कन्द पुराणमा ८१ हजार श्लोक रहेको र त्यसको उपपुराणमा ५० खण्डमध्ये एक खण्ड हिमवतखण्ड रहेको ढुंगानाले बताए।
कार्यक्रममा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै पोख्रेल रहेको जनाउँदै हिमवतखण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताए।
उपाध्यायले पुराणको शिक्षाले जीवन जगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताए। साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनले बताए।
वक्ताहरूमा गिरी, न्यौपाने लगायतले प्राचीन विषयको अध्ययन गर्न चाहनेका लागि यो पुस्तक महत्त्वपूर्ण रहेको बताए। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा हिमवत्खण्ड सम्बन्धी दुई सम्मेलन भएको थियो।
प्रकाशित: २० पुस २०८२ १०:४३ आइतबार





