१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रमुख प्रशासकीयले कार्यपालिका बैठकको निर्णय उल्ट्याए

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।  

उनले सो बैठकको निर्णय नम्बर १० ले जिम्मेवारी खोसिएका सिभिल इन्जिनियर नवराज जोशीलाई पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाको प्रमुखमा पुर्नबहाली गरेका छन। उनले २०८० असोज १० गते देखी लागु हुने गरी जोशीलाई शाखा प्रमुखको जिम्मेवारी तोकिएको व्यहोरा सहितको पत्र दिएका छन।  

लामो समयदेखी शाखा प्रमुखको जिम्मेवारीमा रहेका जोशीलाई सडक बोर्ड नेपाल अन्तर्गतको कार्यक्रममा बदमासी गरेको भन्दै कारबाही स्वरूप जिम्मेवारी खोसिएको थियो। उनले टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी जाने सडक आफू खुसी मर्मत गरेका थिए। सो सडक गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो।  

आयोगले सडक मर्मत गर्न लगाएको थियो। मर्मत गरेको सडक समेत एक वर्ष नपुग्दै पुनः भत्किए पछि नगरपालिकाको तर्फबाट प्राविधिक पक्ष हेरेका जोशी दबाबमा परेका थिए। उनले आयोगको कारबाहीबाट जोगिन नगरपालिकालाई जानकारी नै नदिई आफू खुसी सडक मर्मत गर्न लगाएका थिए।  

उनले कार्यपालिका बैठकले अन्यत्र मर्मत गर्न निर्णय गरेको सडकको रकमलाई आफू खुसी अख्तियारमा मुद्दा परेको सडकमा खर्च गरेर दुरुपयोग गरेको भन्दै कारबाही भएको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले निर्णयमा व्यहोरा उल्लेख नभए पनि सोही घटनामा जोशीलाई कारबाही भएको जानकारी दिए।  

उनले कार्यपालिका बैठकमा जोशीले सम्हाल्दै आएको जिम्मेवारी इन्जिनियर नवीन ओझालाई दिइएको बताए। निर्णयमा इन्जिनियर ओझालाई अर्को व्यवस्था नभएसम्म शाखाको जिम्मेवारी तोक्ने उल्लेख छ।  

त्यस यता शाखाको जिम्मेवारी सम्हाल्दै आएका इन्जिनियर ओझाले स्वास्थ्य समस्याका कारण भन्दै शाखा प्रमुखबाट असोज ९ गते राजीनामा दिएका छन। उनलाई शाखाको जिम्मेवारी सम्हालेदेखि नै जोशीले दबाब दिँदै आएका थिए। उनीहरु दुवै जना आफन्त समेत हुन।

यही असोज २ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्ट आएपछि ओझा माथिको दबाब बढ्दै गएको थियो। ओझाले अनावश्यक दबाबमा रहेर काम गर्नु भन्दा राजीनामा दिन उपयुक्त ठानेको स्रोतको दावी छ। यस बारेमा ओझाले कुनै प्रतिक्रिया जनाउन चाहेनन्। उनले आफू बिरामी भएकाले दुई दिनदेखि विदामा रहेको बताए।

कार्यपालिका बैठकले गरेको निर्णय मिचेका प्रमुख प्रशासकीय अधिकृत विष्टले सबैसँगको सरसल्लाहमा यस्तो कदम उठाएको बताए। कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याउन सक्ने कानुनी आधार के हो ?भन्ने प्रश्नको जवाफमा थप बोल्न चाहेनन्। ‘यस्ता विषय टेलिफोनमा गर्नुहुन्न’ उनले भने –‘कार्यालयमा आउनुस् बसेर कुरा गरौँ।’ उनले अन्त्यमा यस विषयमा समाचार नलेख्न आग्रह गरे।  

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुको मोबाइल रिसिभ गर्ने व्यक्तिले बिग्रेर मर्मतका लागि छोडिएको बताए भने उपप्रमुख खडक बहादुर शाहले यस विषयमा कुनै सरसल्लाह नभएको र आफूलाई कुनै जानकारी समेत नभएको बताए।

प्रमुख प्रशासकीय अधिकृत विष्टले कार्यपालिका बैठकले गरेको नीतिगत निर्णय विरुद्ध चालेको कदमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। उनले जोशीलाई सो शाखाको जिम्मेवारी दिएर कारितास नेपालसँग सम्झौता भएको भनिएको बाढी प्रभावित घरपरिवारका लागि कम लागतमा बाढी प्रतिरोधक आवास निर्माण परियोजनाको काम सम्पन्न गर्न खोजेको देखिन्छ।  

परियोजना अन्तर्गत घर निर्माण बापत नगरपालिकाले भुक्तानी गर्नुपर्ने १ करोड ३० लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन। तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुगेको भन्दै सम्झौतामा हस्ताक्षर गर्न नमाने पछि परियोजनाको काम रोकिएको छ। सोही रोकिएको कामलाई सम्पन्न गराउन प्रमुख थारुले बिस्टलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा रोजेको स्रोतको दावी छ। 

प्रकाशित: १२ आश्विन २०८० १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App