२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस सहमहामन्त्रीमाथि राजावादीको खुकुरी

सामाजिक सञ्जालमा अराजक तथा हिंस्रक अभिव्यक्ति दिँदै आएका कथित ‘राजावादी अभियन्ता’ भौतिक आक्रमणमा उत्रिन थालेका छन्। आफूलाई राजावादी अभियन्ता भन्नेहरू सार्वजनिक मञ्चमै पुगेर राजनीतिक दलका नेतामाथि आक्रमण गर्न थालेका हुन्।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार सांघातिक आक्रमण भयो। काठमाडौं भृकुटीमण्डपमा रहेको रिपोर्ट्स क्लबको साक्षात्कार कार्यक्रममा सम्बोधन गरेर बाहिर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो। यो घटनामा संलग्न व्यक्ति आफूलाई राजावादी अभियन्ता भन्दै आएको पाइएको प्रहरीले जनाएको छ।

नुवाकोटको विदुर नगरपालिका घर भई बालाजु बस्ने ४७ वर्षीय श्यामबहादुर सापकोटा नामका व्यक्तिले यादवमाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारलगत्तै उपस्थित व्यक्तिहरूको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राख्दा सापकोटाले ‘हिन्दु राष्ट्र कायम गर’, ‘एमसिसी खारेज गर’, ‘राष्ट्रियता जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए।

प्रारम्भिक बयान र अनुसन्धानका सापकोटा राजावादी अभियन्ता भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताए। उनले भने, ‘राजावादी अभियन्ता रहेको भन्ने पाइएको छ। अनुसन्धान भइरहेको छ। केही अहिले भन्न नमिल्ने कुरा पनि छन्।’ सापकोटालाई पक्राउ गरी सिंहदरबार वृत्तमा राखिएको छ।

सामाजिक सञ्जालमा अराजक तथा हिंस्रक अभिव्यक्ति दिँदै आएका कथित ‘राजावादी अभियन्ता’ भौतिक आक्रमणमा उत्रिन थालेका छन्।

प्रत्यक्षदर्शीका अनुसार रिपोर्टर्स क्लबको साक्षात्कारमा यादव १७ मिनेट जति बोलेका थिए। सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणा र पूर्वराजदूत विजयकान्त कर्ण पनि बोलेका थिए।

यादवले आफ्नो मन्तव्य राख्दा चिनियाँ राजदूत छन सोङले नेपाल–भारत व्यापारका विषयमा दिएको पछिल्लो विवादास्पद अभिव्यक्ति, चीनले हालै जारी गरेको नक्सामा नेपालको भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नसमेटेको विषयमा आफ्नो धारणा राखेका थिए।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण निर्दोष रहेको, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आफ्ना व्यक्ति बचाउने र अर्का पार्टीका नेतालाई फसाउने व्यवहार देखिएको भन्दै असन्तुष्टिसमेत जनाएका थिए।

कार्यक्रम अवधिभर अगाडि बसेर मन्तव्य सुनेका सापकोटाले कार्यक्रम सकिएपछि बाहिरिने क्रममा रहेका यादवको पछाडिबाट खुकुरी प्रहार गरेका थिए। उक्त खुकुरी उनले झोलामै बोकेर ल्याएको पाइएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारपछि यादवलाई तत्कालै उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइएको थियो। उनको टाउकामा चोट लागे पनि अवस्था सामान्य नै रहेको कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले जानकारी दिए। वडका अनुसार बुधबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेता ट्रमा सेन्टर पुगेर यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यसैबिच कांग्रेस र कांग्रेससम्बद्ध भ्रातृ संघसंस्थाले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। फरक–फरक विज्ञप्तिमार्फत सांघातिक हमला गर्ने घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

खुकुरी प्रहारपछि यादवलाई तत्कालै उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइएको थियो।

पार्टीका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै घटनाको घोर निन्दा र भर्त्सना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने जोकोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।’

उता नेपाल विद्यार्थी संघले भने एक कदम अगाडि बढेर राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्रीको सुरक्षा गर्न नसक्ने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नै मागेको छ।

झलनाथ खनालमाथिको त्यो अभद्र व्यवहार

यसअघि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालमाथि पनि आफूलाई राजावादी अभियन्ता भन्ने समूहले अभद्र व्यवहार गरेको थियो। गत जेठ १७ गते अनामनगरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनाल, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, माओवादी नेता सिपी गजुरेल भएको कार्यक्रममा सन्तोष ‘राजावादी’सहित नौ जनाको समूहले खनालमाथि अभद्र व्यवहार गरेको थियो। कार्यक्रम बिथोल्ने गरी उक्त समूहले हुलहुज्जत, होहल्ला र माइक कब्जा गरेर राजतन्त्रका पक्षमा चर्को अभिव्यक्ति दिएका थिए। पछि प्रहरीले पक्रेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। केही समय थुनामा राखेर उनीहरूलाई पछि छाडिएको थियो।

सार्वजनिक स्थलमा भौतिक रूपमै उपस्थित भएर राजावादीहरूले यस्तो अभद्रता देखाएका दुई घटना भएपछि सामाजिक सञ्जालमा अहिले छ्यापछ्याप्ती अभिव्यक्ति आइरहेका छन्। त्यस्ता अभिव्यक्तिहरू समाजमा उत्तेजना फैलाउने, हिंसालाई बढावा दिने किसिमका हुन्छन्।

पछिल्लो समय राज्यको कमजोरीले सिर्जना भएका समस्याका कारण जनतामा बढ्दै गएको वितृष्णाको फाइदा राजावादीले उठाउन खोजिरहेको प्राध्यापक एवं अधिवक्ता गान्धी पण्डित बताउँछन्।

सार्वजनिक स्थलमा भौतिक रूपमै उपस्थित भएर राजावादीहरूले यस्तो अभद्रता देखाएका दुई घटना भएपछि सामाजिक सञ्जालमा अहिले छ्यापछ्याप्ती अभिव्यक्ति आइरहेका छन्।

‘कुनै शक्ति र भीडको आडमा जे पनि गर्न सकिन्छ भन्ने मनोदशा विभिन्न शक्तिमा छ। पछिल्लो समय बढेको असन्तुष्ट जमातले दलहरूप्रति वितृष्णा पोखिरहेको छ। यही शक्तिको आडमा राजावादी शक्तिलाई पनि आफ्ना गतिविधि सञ्चालन गर्न आँट आएको देखिन्छ,’ उनी भन्छन्, ‘पहिले सामाजिक सञ्जालमा ट्रायल गरे। त्यसपछि सडकमा मास उतार्ने प्रयास भए। त्यसपछि अहिले यस्ता प्रकृतिका आक्रमण हुन थालेको देखिन्छ।’

राजावादी वा अन्य जुनसुकै शक्तिका गतिविधिसँग राज्य सचेत हुनुपर्ने र राज्य तथा दलमा देखिएका समस्या पनि सुधार गर्दै लैजानुपर्ने उनी बताउँछन्। ‘अब पनि प्रमुख दलहरू र राज्य नसुुध्रिने हो भने अवसर पर्खिरहेका राम्रा/नराम्रा शक्तिले ठाउँ पाउँछन्। त्यसपछिको स्थिति भयानक हुनसक्छ,’ पण्डितले भने।

प्रकाशित: २१ भाद्र २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App