२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सहमतिमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति अनावश्यक सक्रिय हुन खोजेको एमाले आरोप, बैठकमा अनुपस्थित

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र सहमतिबाट अघि बढ्न पनि सबैलाई आग्रह गरेका छन्।  

‘अहिले आएर कताकता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन थालेको हो कि भन्ने आभास हुन थालेको छ,’ आफैंले आयोजना गरेको बैठकमा पौडेलले भने, ‘यसले गर्दा शक्ति पृथकीकरण र सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ।’ मुलुकका सामु देखिएका आधा दर्जन  समस्या उठाउँदै राष्ट्रपति पौडेलले आफूले संविधानको सीमाभित्रै रहेर भूमिका निर्वाह गरेको जनाएका छन्। ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन,’ उनले भने, ‘म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रति मेरो चिन्ता छ।’  

संविधानसभाबाट नयाँ संविधान जारी भए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक र महत्वपूर्ण कानुन बन्न नसकेकामा राष्ट्रपतिले दलहरूको ध्यानाकर्षण गराएका छन्। सत्य निरूपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लाग्न नसक्दा जनताको शान्तिको चाहना पूरा हुन नसकेको सवाल पौडेलले उठाएका छन्। नेपाललाई प्री ग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थितिप्रति पौडेलले चिन्ता व्यक्त गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित गर्न पनि सुझाएका छन्। जनताका यावत् समस्याको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्व हुँदा जनताको आवाज बन्द भएको राष्ट्रपतिले गुनासो गरेका छन्।

‘यदाकदा दलहरूबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ,’ उनले भने, ‘आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दल अग्रसर होऊन् भन्ने मेरो सदिच्छा छ। जनताको अपेक्षा पनि यही हो।’ सुशासनका पक्षमा दह्रोसँग उभिन आग्रह गर्दै पौडेलले समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता व्यक्त भइरहेको जनाएका छन्। ‘सार्वभौम संसद् सुशासन प्रत्याभूत गराउन सबैलाई बाध्य पार्ने थलो हो भनेर सिद्ध गर्न यहाँहरू सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा, बेरोजगारी तथा भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास तथा परराष्ट्र नीतिजस्ता मुलुकका साझा दायित्व र जिम्मेवारीमा यहाँहरू सबैको समान दृष्टिकोण होस्।’  

बैठकमा सहभागी नेताले राष्ट्रपतिको चासो र चिन्ता सकारात्मक भएको जनाउँदै संवाद र सहमतिबाट मुलुकलाई अघि बढाउने प्रतिबद्धता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको शुभेच्छा अत्यन्तै सकारात्मक भएको धारणा राखेका थिए। ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले भने, ‘हामी निरन्तर छलफलमा छौं। संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं।’  

विपक्षी एमालेले भने राष्ट्रपति पौडेलले अनावश्यक चासो देखाएर सक्रिय हुन खोजेको आरोप लगाउँदै बैठकमा सहभागी भएन। विगतमा एमालेले संघीय संसद्बाट दुई पटक पारित भएर गएको विधेयक रोक्नेदेखि पार्टी विवाद मिलाउनसमेत राष्ट्राध्यक्षलाई प्रयोग गरेको आरोप लागेको छ। हिजो पार्टीभित्र अप्ठेरो पर्दा मिलाइदिन एमालेका नेताले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग हारगुहार गरेको बताउँदै माओवादी केन्द्रका एक नेताले भने, ‘अहिले राष्ट्रपतिले मुलुकको विद्यमान विषयमा चासो राख्दा सक्रिय हुन खोज्यो भन्नु लज्जाजनक कुरा हो।’

प्रकाशित: ६ भाद्र २०८० ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App