१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन तस्करीमा मुछिएका सत्तापक्षका नेताहरुलाई जोगाउन प्रहरीको सरुवा गरेको एमालेको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गर्ने काम गरेको बताएका हुन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सिआईबी लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरुलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर समेत गरे।

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान समेत दोहो¥याए।

उनले भने, ‘उच्चस्तरीय छानबिन समितिको माग त अझ यसको औचित्यता, आवश्यक्ता अझ बढेर गएको छ। तपाई सबैले देखिरहनुभएको छ। तपाईहरुको लोकप्रिय मिडियामार्फत समाचार प्रकाशन, प्रशारण भइराखेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरुलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरु तर्फ, मुर्धन्य व्यक्तिहरुतर्फ जब सोझिन थाल्यो। त्यसपछि सत्ता घटकलाई के प¥यो भने प्रहरी अधिकारीलाई सरुवा गर्नु पर्‍यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सिआइवी होस वा राजश्व अनुसन्धान विभाग होस्। यी कुनै पनि इकाईले निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न सकिराखेको छैन। सरकारले यसमा नियन्त्रण गरिराखेको छ। सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको छ भन्ने कुरा देखिन्छ। त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ। हामी यो मागबाट फिर्ता हुँदैनौं।’

प्रकाशित: ३ भाद्र २०८० ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App