२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कानुन व्यवसायी धेरै हुँदा सुनुवाइ सकिएन

फाइल तस्बिर

ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरूको सुनुवाइ नसकिएपछि सोमबार पनि ‘हेर्दाहेर्दै’मा रहेको छ।  

आइतबारदेखि सुरु भएको सुनुवाइमा कानुन व्यवसायीहरू धेरै भएका कारण बहस नसकिँदा हेर्दाहेर्दैमा रहेको हो। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमाथिको बहस मंगलबार जारी रहने सर्वोच्च अदालतले जनाएको छ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेकाहरू बन्दी प्रत्यक्षीकरण रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। बिनाकारण थुनामा राखिनु गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, सोही मुद्दामा पक्राउ परेका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितको रिट निवेदनमाथि सुनुवाइ भइरहेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहितलाई विपक्षी गराउँदै मुद्दा दर्ता गरिसकेको छ। अख्तियारले २०७६ माघ २२ मा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ।

त्यसबाहेक प्रहरीको अनुसन्धान ब्युरोले ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। प्रहरीले विभिन्न आरोपित व्यक्तिलाई पक्राउ गर्दै अनुसन्धानमा राखेको छ। त्यसैगरी, सिआइबीले ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेटको निवेदन पनि सँगसँगै राखेर हेरिएको छ।  

सर्वोच्च अदालतले ललिता निवास प्रकरणको किर्ते मुद्दामा प्रहरीले पक्राउ गर्न खोजेको भन्दै १७ जना आरोपितलाई अन्तरिम आदेश जारी गरेको थियो। गत साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १७ जना आरोपितलाई नै पक्राउ नगर्नू÷नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सरकारी जग्गा व्यक्तिको नाममा बनाउने किर्ते मुद्दाको अनुसन्धान गरिरहेको सिआइबीले यस अघि सर्वोच्चले गरेको अन्तरिम आदेश खारेजको माग गर्दै मंगलबार निवेदन दर्ता गरेको थियो।

प्रकाशित: २ श्रावण २०८० ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App