१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

भेनेजुएलामाथि अमेरिकी सैन्य हमला, जनार्दनले भने- अत्यन्तै चिन्ताजनक विषय

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाको विरोध गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् नेता शर्माले एक सार्वभौम मुलुकको राष्ट्रपतिलाई सैन्य बल प्रयोग गरेर देशबाहिर पुर्‍याइनु गम्भीर र चिन्ताजनक विषय भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबीचको मर्यादालाई समेत जोखिममा पारेको छ। यो कार्य भर्त्सनायोग्य छ।’

शर्माले आपसी समस्याको समाधान संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनुपर्नेमा जोड दिँदै सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। उनले यस घटनालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरेका छन्।

अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मादुरो र उनकी पत्नी सिलिया एडेला अमेरिकी सैनिकको नियन्त्रणमा रहेको र उनीहरूलाई भेनेजुएलाबाट बाहिर लगिएको जानकारी दिएका छन्।

अमेरिकाले गए राति २ बजे भेनेजुएलाका प्रमुख चार सहरमा आक्रमण गरेको थियो। सो क्रममा अमेरिकी सेनाले त्यहाँका सैनिक अखडा र विशिष्ट स्थानहरूलाई निशाना बनाएको जनाइएको छ।

अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्नुका पछाडि मुख्य तीन कारण अघि सारेको छ।

भेनेजुएला सरकार अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको र त्यहाँबाट अमेरिकाविरुद्ध षड्यन्त्र भइरहेको अमेरिकी दाबी छ। यसैगरि भेनेजुएलामा लोकतन्त्र समाप्त भएको र मानवाधिकारको गम्भीर उल्लंघन भइरहेको अमेरिकी प्रशासनको निष्कर्ष छ।

साथै, राष्ट्रपति निकोलस मादुरोले अवैध गतिविधि र हिंसालाई बढावा दिएको आरोप अमेरिकाले लगाएको छ।

प्रकाशित: १९ पुस २०८२ १९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App