१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बुटवल उपमहानगरको नीति कार्यक्रम–स्वास्थ्य र शिक्षा प्राथमिकतामा

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक बर्षकालागि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ।

बिहिबार बुटवल उपमहानगरपालिकाको १३ औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन्।

३०२ वटा बुँदे नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने कुरालाइ पनि जोड दिइएको छ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने  नारा अुनरुप बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियाली सहितको सुरक्षित र समुन्नत शहर बनाउने, शिक्षा र स्वास्थ्यलाइ मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको विकासमा जोड दिइएको  छ। आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिएको प्रमुख पाण्डेले बताए। 

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ।

नगर प्रमुख पाण्डेले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए।

यस्तै, बुटवल १३ र १७ मा १५.१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने नीति कार्यक्रमले समेटेको छ। नगरबासीको उपचारमा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने र जेष्ठ नागरिकलाइ घरमै स्वास्थ्यउपचार पुर्याउन बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याइएको छ।

बुटवलमा इरिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति लिइएको नगरप्रमुख पाण्डेले बताए।  

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ।

उज्यालो बुटवल कार्यक्रम अन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने भनिएको छ। बुटवलको मुख्य सडकक्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने नगर प्रमुखले बताए। बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम बुटवलले अगाडि सारेको छ।  

विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ। मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ग्रीन एण्ड क्लिन सिटी बनाउन टोलविकास संस्थालाई परिचालन गरी नगरलाई सफा र सुन्दर बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ।

एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, 'के पाइन्छ होइन, के चाहिन्छ' जस्ता कार्यक्रम समेटिएको छ। 

विद्यार्थीहरु लक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ। बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिममा रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने कार्यक्रम समेटिएका छन्।

नगरप्रमुख पूर्वाधार एम्बुलेन्स, तिनाउ नदीमा आरती केन्द्र स्थापना गर्ने, जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना परेका छन्।

यस्तै, छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रकाशित: ७ असार २०८० १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App