२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा: अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन्।

आइतवार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताएका हुन्।

उनले सो मोर्चा वैचारिक मोर्चा हुने बताए। उनले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वभाविक भएको बताए। समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरुलाई समेट्दै जाने उनको भनाइ छ।

उनले भने, ‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरुलाई मिलाएर लानु पर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ। त्यसमा सहमत भएका पक्षहरुलाई हामी समेट्दै जानेछौँ। अहिले प्रारम्भिक चरणमा जो–जो सहमत हुनुभएको छ, उहाँहरु आउनु हुनेछ। देशभक्तहरु एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन? लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन? वाम शक्तिहरु एक ठाउँमा हुनु, समाजवादी शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन? अर्थात् निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वभाविक ठान्नुपर्दछ। र खुशी हुनुपर्दछ। त्यसैले हामीले समाजवादी शक्तिहरुलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ। जम्मा गरेका छौँ। पहल लिएका छौँ। सक्रियता देखाएका छौँ। यसबाट चिन्तित हुनुपर्ने, आफ्नो बिरुद्धमा कदम चालेको नकारात्मक रुपमा लिनुपर्ने कसैले पनि आवश्यकता छैन।’

प्रकाशित: ३ असार २०८० ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App