३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव

विश्वासको मत लिनु पर्ने/नपर्ने अलमलमा थिए मुख्यमन्त्री

फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज साँझ विश्वासको मत लिने भएका छन्।

एमाले सरकारबाट बाहिरिए पछि विश्वासको मत लिनेबारे अलमलमा परेका मुख्यमन्त्री यादवले कानुनी प्रश्नबाट बच्न अन्तिम समयमा विश्वासको मत दिन लागेका हुन्।

प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएर मुख्यमन्त्री बनेका यादव एमाले सरकारबाट बाहिरिएपछि पनि दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिनु नपर्नेमा ढुक्क थिए।

सत्ता गठबन्धनबाट सरकारका समर्थक दल एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानलाई मुख्यमन्त्री यादवले बेवास्ता गर्दै बसेका थिए। तर, विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयले मंगलबार अपरान्ह ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस प्रदेशसभा सदस्यहरुलाई पठाएका छन्। अधिकांश सांसद राजधानी जनकपुरबाहिर रहेकाले उनीहरूकै समयलाई अनुकूल मान्दै अपरान्ह ५ बजे बैठक बोलाइएको एक सांसदले बताए।

‘नेपालको संविधा २०७२ को धारा १८८ को १ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद वैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ,’ मुख्यमन्त्री यादवको दल जसपाका प्रदेशसभा सदस्य रामअशिष यादवले नागरिकसँग भने,‘पहिलाजस्तै आज पनि सबै दलले विश्वासको मत दिनेछन्।’ सरकारमा सहभागी दल सरकारबाहिर गएर समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने धारा १८८ को २ मा भएको कानूनी प्रावधान पूरा गर्न आज विश्वासको मत लिन लागिएको सांसद यादवले भने।

मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता बोलाएका माओवादी(केन्द्र)ले पनि विश्वासको मत दिने बताएको छ। माओवादीका प्रदेश सांसद युवराज भट्टराईका अनुसार मंगलबार अपरान्ह मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताए। ‘सरकारबाट मन्त्री मात्र फिर्ता बोलाएका हौं। समर्थन कायमै छ,’ उनले भने,‘त्यसैले मुख्यमन्त्रीलाई हाम्रो दल माओवादीले विश्वासको मत दिनेछ।’ जसपाले विपक्षी दल एमालेले पनि विश्वासको मत दिने दाबी गरे पनि एमालेले भने निर्णय गर्न बाँकी छ।

मधेस प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहित सबै दलको समर्थनमा पुस २७ गते सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए। चैत २१ गते संघीय सरकारको समीकरण फेरिएपछि मधेस प्रदेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो। गत जेठ २६ गते बसेको प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो। तर, मुख्यमन्त्रीलाई विश्वासको मत लिन वैठक आज बोलाइएको हो।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्र र एकिकृत समाजवादीका ९/९ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन्। यस्तै ३ जना स्वतन्त्र सांसद छन्।

प्रकाशित: ३० जेष्ठ २०८० ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App