२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

भ्रमण उपलब्धिपूर्ण भयो: दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली पत्रकारसँग शुक्रबार नयाँदिल्लीमा। तस्बिर: रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन्। उनले शुक्रबार पत्रकारसँग कुराकानी गर्दै भने, ‘केही विषयमा ब्रेक थ्रु भएको छ। हामीले पहिलेदेखि सबैभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार हो। लङटर्म पावर ट्रेड हुन्छ कि हुँदैन भन्ने थियो। नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा जाने भनेको हामीसँग भएको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने हो। त्यो भनेको वास्तवमा पावर ट्रेड नै हो, अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो।’

दाहालले नेपालबाट भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने समझदारीलाई पनि ‘बे्रक थु्र’ का रूपमा औंल्याए। उनले भने, ‘बंगलादेश, भारत र नेपालबीचमा अलग–अलग समझदारी भई सक्यो। बंगलादेश र नेपालबीच, बंगलादेश र भारतबीच, भारत र नेपालबीच जुन स्तरमा सहमति भएको छ, त्यो पनि ठुलो कुरा भन्ने प्रस्टै महसुस गर्न सकिन्छ।’

दाहालले ‘लो अल्टिच्युड’को एयर रुट नेपालगन्जमा दिन भारत सहमत भएको बताउँदै भने, ‘तर हामीलाई हाई अल्टिच्युड नै चाहिन्छ। मैले महेन्द्रनगरतिरबाट हुँदाखेरि सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा राख्दा पोजेटिभ भएको छ।’

प्रधानमन्त्री मोदीजीले अब सधैंका लागि सिमाना समस्या हल गर्नुपर्छ, गम्भीर रूपले लागौं भन्नुभएको छ। उहाँले संयुक्त प्रेस वक्तव्यमै भन्नुभयो सीमा समस्या हल गरिन्छ। मोदीजीले सीमा समस्या हल गर्ने भनेर आफैंले भन्नुभएको यो पहिलो पटक हो। भ्रमणको अर्को बे्रक थ्रु यो पनि हो।’

दाहालले सीमा समस्या समाधान गर्न भारतीय पक्ष सकारात्मक बनेको बताए। ‘सिमाना समस्या हाम्रा लागि अर्को चर्को कुरा थियो। हिजो (बिहीबार) प्रधानमन्त्री मोदीजीले अब सधैंका लागि सिमाना समस्या हल गर्नुपर्छ, गम्भीर रूपले लागौं भन्नुभएको छ। उहाँले संयुक्त प्रेस वक्तव्यमै भन्नुभयो सीमा समस्या हल गरिन्छ।

मोदीजीले सीमा समस्या हल गर्ने भनेर आफैंले भन्नुभएको यो पहिलो पटक हो। भ्रमणको अर्को ब्रेक थ्रु यो पनि हो,’ उनले भने।

प्रधानमन्त्री दाहालले एकीकृत जाँच चौकी, रेल, पाइप लाइनका सम्झौता पनि सकारात्मक उपलब्धि भएको बताए। यसले नेपालको आर्थिक गतिविधिलाई अगाडि बढाउन ठुलो मद्दत मिल्छ भन्ने आफूलाई लागेको उनले बताए।

उनले भने, ‘यो भ्रमणमा सबैको आँखा र ध्यान तानिएकै थियो। हाम्रो नेपालमा मान्छे, पाठक सबै अलि बढी नेगेटिभतिर जाने भए के। सबै त्यस्तै भएका हुनाले नेता पनि त्यस्तै भएको हो कि नेता त्यस्ता भएकाले सबै त्यस्ता भएका हुन्, यो विचित्र लाग्छ।’

प्रधानमन्त्री दाहालले एकीकृत जाँच चौकी, रेल, पाइप लाइनका सम्झौता पनि सकारात्मक उपलब्धि भएको बताए।

यसैक्रममा दाहालले अगाडि भने, ‘बिहीबार बिहानबाट बिस्तारै नेपालको वातावरण सकारात्मक बन्दै गएको छ। हैदरावाद हाउसबाट भएको संयुक्त प्रेस वक्तव्यले सकारात्मकताको सञ्चार भएको छ। एमओयु भयो, एग्रिमेन्ट भयो। मेरो बुझाइमा यो भिजिट धेरै नै महत्वपूर्ण भयो, धेरै राम्रो सुरुवात भयो। अहिले नै सबै चिज भइहाल्यो भन्ने त होइन तर धेरै ठुलो कुराको सुरुवातचाहिँ यो भिजिटबाट भएकै हो।’

यसैबीच भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार धार्मिक यात्रामा निस्किए। मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुगेर दाहालले रुद्राक्ष चढाए। भारत भ्रमणको तेस्रो दिन दाहाल मध्य प्रदेश पुगेका हुन्।

दाहाल मध्य प्रदेशको इन्दोर पुग्दा त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरे। उनी दिल्लीबाट इन्डियन एयर फोर्सको विमानबाट इन्दोर पुगेका थिए। इन्दोरबाट प्रधानमन्त्री दाहाल सडक मार्ग भएर उज्जैन पुगेका थिए।

इन्दोरमा प्रधानमनत्री दाहाललाई विभिन्न नाचगान र झाँकीसहित स्वागत गरियो। इन्दोरस्थित देवी अहिल्याबाइ होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री चौहानललगायतका सरकारी अधिकारीले स्वागत गरे। त्यसपछि कलाकारले नृत्य देखाएका थिए। इन्दोरको होटल मेरियटमा प्रधानमन्त्री दाहालसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गरे।

दाहाल मध्य प्रदेशको इन्दोर पुग्दा त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरे। उनी दिल्लीबाट इन्डियन एयर फोर्सको विमानबाट इन्दोर पुगेका थिए।

मुख्यमन्त्री चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोज पनि आयोजना गरे। मुख्यमन्त्री चौहानले प्रधानमन्त्री दाहाललाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘मध्य प्रदेशको पवित्र भूमिमा पाल्नुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ लाई हृदयदेखि नै अभिनन्दन। आज इन्दोर विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिई आत्मीय स्वागत गरें।’ दाहालले इन्दोरमा फोहोर व्यवस्थापनबारे अवलोकन गरे।

प्रधानमन्त्री दाहालले बिहीबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए। त्यस्तै उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०८० ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App