१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश सरकारको सयदिने उपलब्धिः बालकविता लेखन र वाचन प्रतियोगिता

गण्डकी प्रदेश सरकारले हनिमुन पिरियडमा सरकारका सामान्य कामलाई पनि उपलब्धीका रुपमा राखेको छ। सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एकसय दिने उपलब्धिमा सामान्य अनि नियमित कामलाई समेत समावेश गरेका हुन्।

यतिसम्मकी बालप्रतिभा पहिचान अन्तर्गत प्रदेशस्तरीय कविता लेखन र वाचन प्रतियोगिता संचालन गरि २० जना बालबालिकालाई पुरस्कार र प्रमाणपत्र दिएकोलाई पनि प्रदेश सरकारले उपलब्धिमा समेटेको छ। त्यस्तै महिलाका लागि परीक्षा तयारी कक्षा संचालनलाई पनि मुख्यमन्त्रीले उपलब्धि ठानेका छन।  

आफु नेतृत्वमा सरकार बनेको दुई महिनामै अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले एकसय दिनको १४ बुँदे उपलब्धीमा मन्त्रालय संख्या घटाउनेदेखि ऐन बनाउनेसम्मका काम गरेको बताएका छन। मुख्यमन्त्री अधिकारीले शुक्रबार पत्रकार भेटघाट गरी सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा मन्त्रालय संख्या घटाउने विषयलाई प्राथमिकताका साथ राखेका छन्।

उपलब्धिको पहिलो बुँदामै उनले यसअघि १२ मन्त्रालय रहेको प्रदेशमा ७ मन्त्रालयमा झारेर प्रशासनिक खर्च घटाएको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालय घटाउँदा वार्षिक ७० देखि ८० करोड रुपैयाँ प्रशासनिक खर्च घट्ने दाबी गरे। ‘हामीले संयुक्त सरकार चलाउने बाध्यताका बाबजुद मन्त्रालय संख्या घटाएर प्रशासनिक खर्च घटाएका छौं,’ उनले भने। 

त्यस्तै, सरकारले यो बीचमा चारवटा ऐन बनाएको भन्दै यसलाई पनि उपलब्धीका रुपमा व्याख्या गरेको छ। यसबीचमा प्रदेश निजामती सेवा ऐन, गण्डकी प्रदेश निजामती सेवा नियमावली, स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन र केही प्रदेश कानून संसोधन ऐनमार्फत ३४ वटा ऐनहरुको संसोधन गरेको मुख्यमन्त्री अधिकारीले बताए।  

सरकारले ठोस उपलब्धी हाँसिल नगरेपछि कोभिड प्रभावित व्यवसायीहरुको कर्जामा व्याज सहुलियतका लागि व्यवसाय जीवन रक्षा कोषमा १३ करोड रुपैयाँ निकासा गरेको विषयलाई उपलब्धीको छैटौं बुँदामा राखेको छ।  

साहसिक पर्यटन, प्याराग्लाइडिङ, बञ्जीजम्प, क्यानोईङ, कृषि पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटनलगायतको विकासमा जोड दिएर लगानीको वातावरण तयार गरेको दाबी गरेको छ। सरकारले पर्यटनको विकासमा महत्वपूर्ण आधारशिला खडा गरेको मुख्यमन्त्री अधिकारीले दाबी गरे।

यातायात व्यवस्था कार्यालयबाट ६ हजार १ सय ६५ सवारी दर्ता गरेको विषयलाई पनि सरकारले उपलब्धिमा समेटेको छ। त्यस्तै साप्ताहिक रुपमा प्रकाशन हुने गण्डकी कृषि मौसम सल्लाह बुलेटिनलाई नियमित प्रकाशन हुने व्यवस्था मिलाएको मुख्यमन्त्रीको उपलब्धिमा समेटिएको छ।  

प्रकाशित: ८ वैशाख २०८० ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App