५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिन अस्पताल बसेर एक साताअघि निवास फर्केका राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको छ। शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य अवस्था पनि असहज बनेपछि मंगलबार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

राष्ट्रपति पौडेलको फोक्सोको तल्लो भागमा पानी र पेटमा संक्रमण देखिएपछि थप उपचारका लागि चिकित्सक, परिवारका सदस्य र सरकारले विभिन्न विकल्पमा परामर्श गरिरहेका छन्। सरकारले बुधबार बिहान राष्ट्रपति पौडेलको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने स्रोतको दाबी छ। ‘परिवारका सदस्यको चाहना छिमेकी मुलुक भारत वा अन्यत्र लैजाने कि भन्नेजस्तो देखिएको छ,’स्रोतले भन्यो, ‘उपचारमा संलग्न चिकित्सकको परामर्शमा सरकारएउटा निर्णमा पुग्छ।’

त्रिवि शिक्षण अस्पताल प्रशासन प्रमुख वैकुण्ठ थपलियाले मंगलबार राति जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य स्थिति असहज बनेपछि उपचारार्थ अस्पतालमा भर्ना भएको जनाइएको छ। तर विज्ञप्तिमा स्वास्थ्यमा देखिएको असहज अवस्था के हो भन्नेबारे उल्लेख गरिएको छैन। चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलको उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सरकारले मंगलबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई अस्पताल पठाएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल पनि राष्ट्रपतिलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। पिसाबमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेल अघिल्लो शनिबार सोही अस्पतालमा भर्ना भएका थिए। उपचार गराएर बुधबार सरकारी निवास फर्केका राष्ट्रपति पौडेलले सोमबार ‘फलोअप’परीक्षण गराएका थिए। त्यसक्रममा फोक्सोको तल्लो भागमा पानी देखिएको थियो। फोक्सोमा पानी देखिएकाले त्यो क्यान्सरका कारणसमेत हुन सक्ने आशंका गर्दै चिकित्सकले थप परीक्षणका लागि पठाएका छन्।

प्रकाशित: ६ वैशाख २०८० ००:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App