२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र मन्त्रीले ३ महिना अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गर्नुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह गरेका छन्। 

महामन्त्री थापाले बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा उक्त आग्रह गरेका हुन। सरकारको कामको गति सुस्त भएको गुनासो गर्दै उक्त आग्रह गरेका हुन। उनले सरकार दौडिने बेलामा जुत्ताको तुना बाँध्नमै व्यस्त भएको आरोप पनि लगाएका छन्।

उनले अनावश्यक खर्च कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्री सचिवालय सदस्यको संख्या घटाउन आग्रह पनि गरेका छन्। महामन्त्री थापाले देशको आर्थिक अवस्था सङ्कटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन।

उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताए। सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाई छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनको जिकिर थियो।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेर, सम्माननीय राष्ट्रपतिले भन्न सक्नुपर्छ मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानुनले सुविधा दिएको छ। तर म पाँच जना मात्रै राख्छु। म ३ जना मात्र राख्छु। हेर्दा सामान्य कुरा देखिन्छ। अहिले हामी अप्ठेराे अवस्थामा छौँ। जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अप्ठेराेको बेलामा भएको हुनाले गर्दा हामी अत्यावश्यक बाहेकको खर्चलाई हामी कटौती गर्दैछौँ। मितव्ययी हुँदैछौँ। तर विकासको क्षेत्रमा गर्नुपर्ने, पुँजीगत खर्च गर्नुपर्ने हो त्यो खर्चमा भने हामी पहिलाको भन्दा पनि सुधार गर्छौँ। हामी दिनरात एक ठाउँमा बसेर काम गर्छौ भन्ने ढङ्गबाट गयौँ भने बल्ल यसबाट थोरै भए पनि सुधार आउँछ।’

प्रकाशित: २२ चैत्र २०७९ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App