२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन: फरार कैदीबन्दी बाधक बन्ने आशंका

प्रतिनिधिसभा निर्वाचनमा साढे चार हजार फरार कैदीबन्दी बाधक हुन सक्ने आशंका गरिएको छ। निर्वाचन हुन ५४ दिन बाँकी छ । विभिन्न अपराधको कसुरमा जेलजीवन बिताइरहेका १४ हजार पाँच सय ५५ कैदीबन्दी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका थिए। तिनै कैदीबन्दी निर्वाचन बिथोलन प्रयोग हुन सक्ने आशंका बढेको हो।

भागेका कैदीबन्दीमध्ये चार हजार पाँच सय १२ जना अझै सम्पर्कबाहिर छन्। फरार हुनेमा पाँच सयभन्दा बढी विदेशीसमेत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभिन्न कारागार, बन्दी/सुधार गृह तथा हिरासत कक्षबाट भागेका कैदीबन्दीमध्ये १० हजार बढी सम्पर्कमा आइसकेका छन्।

कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेले फरार कैदीबन्दीको सुरक्षा निकायले खोजतलास गरिरहेको बताए। ‘सुरक्षा निकायले खोजी गरिरहेको छ। फरार कैदीबन्दी पक्राउ गर्ने जिम्मेवारी सुरक्षा निकायको हो। सुरक्षा निकायले पक्राउ गरी कारागारलाई बुझाउने काम भइरहेको छ। अपराधीहरू सकेसम्म सुरक्षित हुन खोज्छन् तर प्रहरीले पक्राउ गरेर ल्याएको छ,’ घिमिरेले भने।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार पनि देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई कैदीबन्दी तथा थुनुवा खोजतलास गर्न निर्देशन दिएका छन्। उनले भर्चुअल बैठक गरी कैदीबन्दी र हतियार खोजतलास गर्न निर्देशन दिएका हुन्।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेका अनुसार फरार कैदीबन्दी र हतियार नियन्त्रणमा लिन, बुझाउन सहयोग गर्नेलाई पुरस्कृत गर्ने तथा प्रहरीभित्रका कर्मचारीको हकमा कार्यसम्पादनमा मूल्यांकन गर्ने गरी प्रहरी संगठन अघि बढेको छ। ‘प्रहरी महानिरीक्षकले लुटिएका हतियार खोज्ने र भागेका कैदीबन्दी पक्राउ गर्नेलाई पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ,’ भर्चुअल बैठकबारे जानकारी दिँदै काफ्लेले भने।

डिआइजी काफ्लेका अनुसार १० हजार बढी कैदीबन्दी फिर्ता भएका छन्। तीमध्ये केहीलाई पक्राउ गरेर कारागारमा ल्याइएको हो। बाँकीलाई नियन्त्रणमा लिन प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट फोकल पर्सन बनाएर परिचालन गरेको छ।

असोज २६ मा कारागार व्यवस्थापन विभागले कैदीबन्दीको विवरण सार्वजनिक गर्दै खोजबिनमा सहयोग गर्न अपिल गरेको थियो। गृह मन्त्रालयले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि रहने गरी सबै जिल्लामा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ। जिल्ला कार्यदलले पनि प्रहरीलाई नै निर्देशन दिने भएकाले पक्राउ गर्ने, खोजी गर्ने जिम्मेवारी प्रहरीकै हो।

कारागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरेले पनि दस हजार बढी फरार कैदीबन्दी कारागारमा आइसकेको बताए। ‘सम्पर्कमा नआएकाको खोजतलास जारी छ। राज्यका तर्फबाट सुरक्षा निकायले खोजतलास गरिरहेको छ। जिल्ला जिल्ला र गाउँगाउँ तहबाट पनि खोजतलास भइरहेको छ। जिल्लामा खोजतलास कार्यदल छन्। त्यही कार्यदलले फरार कैदीबन्दीलाई खोजेर कारागार पठाउने गरेको छ,’ महानिर्देशक घिमिरेले भने।

जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते केन्द्रीय कारागार, नक्खु कारागार, बाँके, रौतहट, सिन्धुली, चितवन, मकवानपुर, कपिलवस्तु, कास्की, तनहुँ, कैलाली, कञ्चनपुर, नवलपरासी, सुनसरी, दाङ, महोत्तरीसहितका २८ कारागार र नौ बालसुधार गृहबाट कैदीबन्दी फरार भएका थिए।

जेनजी आन्दोलनका क्रममा तीन प्रहरी र १० कैदीबन्दीसहित ७६ जनाको ज्यान गएको थियो। प्रहरीका १२ सय बढी हतियार, करिब एक लाख राउन्ड गोली पनि लुटपाट भएको थियो। करिब चार सय घातक हतियारबारे प्रहरी अझै बेखबर छ। लुटिएका हतियार र फरार कैदीबन्दीबाट सुरक्षा जोखिम उत्पन्न भएको स्वयं प्रहरीकै आन्तरिक प्रतिवेदनले जनाए पनि सबै कैदीबन्दी पक्राउ पर्न सकेका छैनन्।

प्रहरीका अनुसार फरार नेपाली तथा विदेशी नागरिकहरू जबर्जस्ती करणी, लागुऔषध, सुन तस्करी, मानव तस्करी, अपहरण तथा शरीर बन्धक, डकैती, हत्या (कर्तव्य ज्यान), चोरी, राजस्व चुहावट, विदेशी मुद्रा तस्करीलगायतका अभियोगी छन्।

 फरार कतिपय अपराधीहरू भने विदेश पुगिसकेको हुन सक्ने प्रहरीको आशंका छ। फरार विदेशी कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको पनि सहयोग मागिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी काफ्लेको भनाइ छ। निर्वाचन बिथोल्ने गरी कैदीबन्दी आउन नसक्ने भए पनि प्रहरीले सजगता अपनाइरहेको उनले बताए।

‘कैदीबन्दीले निर्वाचन बिथोल्न सक्दैनन्। नेपाल प्रहरीले उनीहरू लुक्ने सम्भावित सबै स्थानमा खोजतलास जारी राखेको छ। प्रहरी घरठेगानासम्म परिचालन भएको छ। विशेष निगरानी भइरहेको छ। उनीहरू चुनावमा आउन सक्ने सम्भावना छैन,’ प्रवक्ता काफ्लेले भन, ‘उनीहरू फरार छन्। चुनावमा आइहाले भने पनि त्यतिबेला नै पक्राउ पर्नेछन्। नेपाल प्रहरीको प्रदेश कार्यालय मार्फत फोकल पर्सन बनाएर पक्राउ गर्न लागिपरेका छौं। सबै प्रकारका गस्तीलाई फरार व्यक्ति भेटिए पक्राउ गर्नु भन्ने निर्देशन दिइएको छ। स्थानीय जनप्रतिनीधिहरूसँग पनि नियमित कुराकानी हुन्छ।’

६० किलो सुन तस्करीका अभियुक्त दावा अझै फरार

६० किलो सुन तस्करी प्रकरणमा जोडिएका अधिकांश चिनियाँ तस्कर कारागारबाट भागेर फरार छन्। भदौ २४ गते राति कारागार तोडफोड तथा आगजनी गर्दै देशका विभिन्न कारागारबाट कैदीबन्दी फरार हुने क्रममा दावा छिरिङसहित सुन तस्करीमा जोडिएका चिनियाँ कैदी फरार भएका हुन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई ललितपुरस्थित नक्खु कारागार र सुन्धारास्थित जग्गनाथदेवल (केन्द्रीय) कारागारमा राखिएको थियो। यी कारागारबाट १० चिनियाँ सुन तस्कर फरार छन्। फरार हुनेमा रोल्पाकी अमला रोकासँग विवाह गरेका चिनियाँ नागरिक दावा छिरिङ पनि छन्।

उनै दावा सुन तस्करीमा संलग्न रहेकाहरूलाई नेपालमा व्यवस्थापन गर्दै आएका थिए। यही सुन तस्करीमा जोडिएपछि २०८० भदौ १ मा चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचेङ पनि पक्राउ परेका थिए। उनी पनि फरार छन्।

प्रकाशित: २५ पुस २०८२ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App