८ वैशाख २०८१ शनिबार
राजनीति

‘मिटरब्याजीको समस्या समाधान गर्न छिटो कानुन बनाऔं’

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मिटरब्याजपीडितका समस्या तत्काल समाधान गर्न माग गरेका छन्। बुधबारको बैठकमा बोल्दै सांसदले धेरै गरिब नेपाली मिटरब्याजीबाट झन् कंगाल बनाएकाले कानुन बनाई मिटरब्याजीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।  

एमाले सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताइन्। एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन्,’ उनले भनिन्।

कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्यायाजीको समस्या तत्काल समाधान गर्नका लागि कानुन निर्माण गर्न माग गरे। कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटरब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरूलाई आ–आफ्नो घर फिर्ता गर्न माग गरे। एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौं आएको भन्दै मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरूलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउनुपर्ने उनले बताए।

माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले मिटर व्याजीको समस्याको अध्ययन गरेर समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्ने बताए। जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौं आएको भन्दै मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्ने बताइन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मिटरब्याजको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए। नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन्। स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताए उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको आरोप लगाए। सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको बताए।

प्रकाशित: १६ चैत्र २०७९ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App