१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

घेराबन्दीमा पर्दै मेयर हर्क साम्पाङ,वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले दिए २४ घण्टे अल्टिमेटम

मेयर हर्क साम्पाङ विरुद्ध पत्रकार सम्मेलन गर्दे वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु। तस्बिर: रोहित राई

धरानका मेयर हर्क साम्पाङ आफ्नो बोली र व्यवहारको कारण एकपछि अर्को विवादमा पर्दै आएका छन्।

जनतालाई विकाससँग जोड्न श्रम सँस्कृतिको लहर ल्याएर प्रशंसा बटुले पनि सामाजिक सञ्जालमा सक्रिय रहने उनी अमर्यादित र अशोभनिय शब्दचयनले बेला बेला विवादमा पर्ने गरेका थिए।

उनको बोली र सामाजिक सञ्जालको लेखाइले कार्यपालिका बैठकसमेत प्रभावित हुने गरेको छ। पछिल्लो समय भने उनको सचिवालयमा कार्यरत स्वकीय सचिव भनिएका सर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई योजना तथा कार्यक्रमको सुची पठाउन पत्राचार गरेपछि विवाद शुरु भएको थियो। बैठकमा गल्ती स्वीकार गरेर माफी माग्न र लिम्बुलाई कारबाही गर्न माग भए पनि मेयर साम्पाङले अस्वीकार गर्दै बैठक स्थगित गरेका थिए।

यो विवाद यतिमै भने टुंगिएन। लगत्तै उनले कार्यपालिका बैठकमा विरोध गर्ने वडा नं १० का अध्यक्ष विवेक राईलाई बैठक भाड्ने गरि अराजक र अमर्यादित भाषाशैलीमा कराएको भन्दै ३ दिनभित्र स्पष्टीकरण लेखी पठाउन भन्दै पत्राचार गरे। चित्त बुझ्दो स्पष्टीकरण नआए कार्यपालिका बैठक भाँडेको कसुरमा कानुन अनुसार सजाय हुने पनि चेतावनी दिए। मेयर साम्पाङको यो पत्रले वडाअध्यक्षहरु थप भड्किए, र उनीहरुले सामूहिक रुपमा मेयर साम्पाङको प्रतिरोध गर्ने निर्णयमा पुगेका छन्। धरानमा मेयर साम्पाङ स्वतन्त्रबाट निर्वाचन छन् भने वडा ६ का अध्यक्षबाहेक सबै राजनीतिक दलहरुबाट निवार्चित छन्। कार्यपालिका र नगरसभामा नेकपा एमालेको बहुमत छ।  

धरानका २० वटा वडाका अध्यक्ष र थप ८ जना कार्यपालिका सदस्यहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै पटक पटक अशोभनिय व्यवहार गरेर समग्र नगरबासीहरुकै मानमर्दन गरेको र धरानको प्रतिष्ठामा नै आँच आएको आरोप लगाए। वडा ११ का सेवाग्राही सन्तोष लिम्बुलाई कार्यालयबाटै प्रहरी बोलाएर पक्राउ गर्न लगाएको भन्दै वडाअध्यक्षहरुले उपमहानगरपालिका जनप्रतिनिधि संस्था जस्तो नभै जंगबहादुरको अडडा जस्तो भएको पनि बताएका छन्।

योग्यता नै नपुगेका सर्दुशन लिम्बुलाई स्वकीय सचिव बनाएको र वडाअध्यक्षहरुको अवमुल्यन हुने गरि उपमहानगरपालिकाको लेटरप्याडमार्फत निर्देशन दिएको पनि बताएका छन्। सुर्दशन लिम्बुको शैक्षिक योग्यता अनुसार चौथो तहमा मात्र सचिवालयमा नियुक्ती भएको र छैटौं तहको अधिकृतको रुपमा रसिक थेवे पनि नियुक्ती भएकोले सुर्दशनले स्वकीय सचिव लेख्न नपाउने पनि वडाअध्यक्षहरुले बताएका छन्।

लिम्बुले स्वकीय सचिव भनेर पद, लेटरप्याड र अधिकारको दुरुपयोग गरेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइने पनि कार्यपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष मनोज भट्टराईले बताए। ‘मेयर हर्कराज राई साम्पाङ मनोमानी, स्वेच्छाचारीढंगले एकल निर्णयका आधारमा अघि बढ्न खोजेको देखिन्छ,’ उनले भने,‘भर्खर मात्र सरुवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृतलाई ७ बुँदे सर्तमा हस्ताक्षर गर्न दबाब दिइरहेको छ, यो कुन नियम, कानुनबाट गर्न खोजेको हो?’

वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले विभिन्न ५ बुँदे माग राख्दै २४ घण्टाभित्र पुरा नभए चरणवद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन्। मेयर साम्पाङले विनाकारण झुटो आरोपमा ऐनविपरीत वडाअध्यक्षलाई स्पष्टीकरण सोधेकोमा आत्मालोचना गरेर सार्वजनिक माफी माग गर्नुपर्ने माग वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले राखेका छन्। यस्तै, अयोग्य स्वकीय सचिवले पदको दुरुपयोग गरेर पत्राचार गरेकोमा आत्मालोचनासहित भुलसुधार गरेर उनलाई कारबाही गर्न पनि माग गरेका छन्।

यसैगरि, नगर प्रमुखले स्थगित गरेको कार्यपालिका बैठक तुरुन्त बोलाउनुपर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको खानेपानी तथा बिजुली प्रयाग गर्न पाउने अधिकार सुनिश्चित गर्न वडा अध्यक्षहरुले नियमअनुसार प्रयोग गर्दै आएको सिफारिश गर्ने अधिकार कार्यान्वयन हुनुपर्ने, संघ तथा प्रदेशबाट आउने योजनाको सिफारिश रोक्का गरि धरानको विकासमा अवरोध सिर्जना हुने गरेकोमा तुरुन्त योजनाको माग सिफारिश गर्नुपर्ने पनि माग राखेका छन्। यी मागहरु २४ घण्टाभित्र पुरा गर्न मेयर साम्पाङलाई वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले चेतावनी पनि दिएका छन्।  

प्रकाशित: ५ चैत्र २०७९ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App