५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ। उक्त पार्टीले शुक्रबार उपराष्ट्रपति पदमा ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले ममता झालाई उपराष्ट्रपति बनाउने पार्टीले आधिकारिक निर्णय गरेको बताए। आफ्नो निर्णयबाट पार्टी पछि नहट्ने पनि उनको भनाइ छ। सत्तारुढ आठदलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने विषयमा सहमति नभएको दाबी गरे। यस विषयमा छलफलसमेत नभएको उनको भनाइ छ। ‘जसपालाई उपराष्ट्रपति दिने भन्ने विषयमा सहमति भएको त परै जाओस्, छलफलसमेत भएको छैन’, सिंहले भने, ‘त्यसैले उपराष्ट्रपति पदमा हाम्रो दाबी रहन्छ।’ जनमत पार्टीले अघि सारेको उम्मेदवारलाई आठ दलले समर्थन गर्नेमा आफूहरू ढुक्क भएको पनि उनले बताए।

उपराष्ट्रपतिका उम्मेदवार घोषणा गरिएकी ममता झाले पनि आफूलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने पार्टीको औपचारिक निर्णय भएको बताउँदै त्यस पदमा आफू सक्षम भएको दाबी गरिन्। जनमत पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष सिके राउतको चाहनामा ममता झाको नाम अगाडि सारिएको हो। झा जनमत पार्टीको सप्तरी जिल्ला इन्चार्जसमेत हुन्।

यता राम सहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णयबाट आफूहरू कुनै पनि हालतमा पछि नहट्ने जसपाका नेताहरूले बताएका छन्। संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार फरक लिंग वा समुदायको हुनुपर्छ भनी उल्लेख गरिएकाले राम सहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन संविधानले नरोक्ने जसपाका प्रवक्ता मनीष सुमनले बताए। ‘संविधानमै प्रस्टसँग फरक लिंग वा फरक समुदायको हुनुपर्छ भनी लेखिएको छ’, सुमनले भने, ‘त्यसैले उहाँ (राम सहाय यादव) लाई उपराष्ट्रपति पदमा उम्मेदवारी दिन संविधानले रोकेको छैन।’

यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवारी बनाउने निर्णय पहिल्यै आठदलीय गठबन्धनबीच सहमति भइसकेको उनले दाबी गरे। ‘उहाँ (राम सहाय) लाई उपराष्ट्रपति उम्मेदवार बनाउने पहिल्यै भइसकेको निर्णय हो। जसपालाई उपराष्ट्रपति पद दिने सहमति आठ दलले पहिल्यै गरिसकेका छन्’, सुमनले भने, ‘आठ दलले निर्णय गरिसकेपछि हामीले राम सहायजीलाई अघि सारेका हौं।’ यस विषयमा आठदलीय गठबन्धनमा फेरि छलफल नहुने उनको भनाइ छ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा २ बाट राम सहाय यादव निर्वाचित भएका छन्। उनी उपराष्ट्रपति पदमा निर्वाचित भएपछि बारा २ रिक्त हुने छ। रिक्त क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन्। जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष यादवको चाहनाअनुसार राम सहायलाई उपराष्ट्रपतिको उम्मेदवारमा अघि सारिएको हो। जसपा स्रोतका अनुसार उपनिर्वाचन लड्न सबैभन्दा सजिलो र सुरक्षित क्षेत्र बारा २ रहेको निष्कर्ष यादवले निकालेका छन्।

यसै बीच यसअघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि उपराष्ट्रपति पदमा उम्मेदवार बन्ने चाहना राखेकी थिइन्, तर संविधानअनुसार उमेर नमिल्ने भएपछि उनी पछि हटेकी छन्।  

प्रकाशित: २६ फाल्गुन २०७९ २३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App