काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई व्यवस्थापिका संसद्ले प्रक्रियाका रूपमा अघि बढाएलगत्तै सहज निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको दौडधुप बढेको छ।
आफ्नै पार्टीका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक रहेको महाभियोग प्रस्तावलाई ठोस निष्कर्षमा पुर्याउन दाहालले पार्टीभित्र र बाहिर भेटघाट तीव्र बनाएका छन्। अघिल्लो दिन बसेको माओवादी हेडक्वार्टर बैठकले महाभियोग प्रस्ताव अघि बढाउन दाहाललाई सबै अधिकार दिएलगत्तै उनको सक्रियता बढेको हो। २३ सदस्यीय माओवादी हेडक्वार्टरले महाभियोग प्रस्तावको पक्षमा उभिनुपर्ने धारणा राखेपछि अध्यक्ष दाहाल सोही दृष्टिकोणलाई सफल बनाउन सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँगको छलफलमा व्यस्त भएका हुन्।
अघिल्लो दिन सत्तागठबन्धन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका दाहालले आइतबार प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग महाभियोगको निकासबारे छलफल गरे। 'उहाँहरू (ओली र दाहाल) बीच अनौपचारिक (पूर्वयोजनाबिनै) भेट भएको हो', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, 'छलफल कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई कसरी सहज निकासमा पुर्याउने भन्नेमा केन्द्रित थियो।' स्रोतका अनुसार ओली र दाहालले महाभियोग प्रस्ताव सफल बनाउन कांग्रेसलाई कसरी मनाउन सकिएला भन्नेबारे समेत छलफल गरेका थिए।
बुधबार एमालेका एक सय सात र माओवादीका ५० सांसदले महाभियोग प्रस्ताव दर्ता गरे पनि पार्टीमा पर्याप्त छलफल नभएको भन्दै माओवादीका नेता तथा सांसद विभाजित भएका थिए। पार्टीको माथिल्लो निकाय हेडक्वार्टरले महाभियोग अघि बढाउने धारणासहित सबै अधिकार दाहाललाई दिएपछि अहिले पूरै पार्टी कार्कीलाई कारबाही गर्ने पक्षमा रहेको सांसद रुपा महर्जनले बताइन्। महाभियोग प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी महर्जनले त्यसको भोलिपल्ट झुक्याएर हस्ताक्षर गराइएको भन्दै कार्कीको बचाउ गरेकी थिइन्। 'महाभियोग दर्ता भएपछि देखिएको असमझदारी अहिले अन्त्य भएको छ। अब पूरै पार्टी महाभियोगको पक्षमा लाग्नेछ', उनले नागरिकसँग भनिन्।
सत्तारूढ दल माओवादी र प्रमुख प्रतिपक्ष एमाले कार्कीलाई कारबाही गर्ने पक्षमा सहमत भए पनि सत्तारूढ दल कांग्रेस र दाहाललाई प्रधानमन्त्री बन्न सघाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महाभियोग प्रस्तावमा मतदान हुँदा पक्ष वा विपक्ष, कता रहने भन्ने निर्णय गरेका छैनन्। माओवादी अध्यक्ष दाहाल निकट स्रोतका अनुसार कांग्रेस सभापति देउवा पनि कार्कीविरुद्धको महाभियोग प्रस्तावको पक्षमा छन्। 'तर उहाँ (देउवा) ले एकातिर एमाले र माओवादीले हतार गरेको उक्त कार्यलाई बेवास्ता गरेको देखाउन र अर्कोतर्फ पार्टीका नेताहरूको धारणा बुझ्न खोज्नुभएको मात्र हो', उक्त स्रोतले भन्यो। प्रधानमन्त्री पनि महाभियोग प्रस्तावबारे कम्तीमा सत्तारूढ दुई दलबीचको समान धारणा आउनुपर्छ भनेर देउवासँग लबिङ गरिरहेको दाहाल निकट स्रोतले बतायो।
यसैबीच दाहालले आइतबार नै पार्टी संसदीय दलको बैठकमा महाभियोग प्रस्तावबारे बिफ्रिङ गरेका छन्। महाभियोग प्रस्ताव दर्ता भएपछि मौन रहेका दाहालले पहिलोचोटि उक्त विषयबारे माओवादीभित्र कुनै विवाद नभएको र हुन नहुने बताएको प्रमुख सचेतक टेकबहादुर बस्नेतले बताए। बस्नेतका अनुसार दाहालले महाभियोग प्रस्तावलाई निकास दिन आवश्यक आधार तयार हुँदै गएको सांसदलाई जानकारी गराएका थिए।
यता, दाहाललाई प्रधानमन्त्री बन्न सघाएको मधेसी मोर्चाका नेता केशव झाले भने कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याउन अहिलेको समय ठीक नभएको बताएका छन्। 'कार्कीविरुद्धको मुद्दा सर्वोच्च अदालतबाट छिनोफानो हुन गइरहेको बेला एक्कासि महाभियोग प्रस्ताव आउँदा संविधान संशोधनमा ढिलाइ गर्ने षड्यन्त्र हो कि भन्ने आशंका उत्पन्न भएको छ', झाले भने। कार्कीविरुद्धको महाभियोग प्रस्तावले संविधान संशोधनको मुद्दा धकेलिन नहुने उनको भनाइ छ।
कतिपय राजनीतिक विश्लेषक भने विभिन्न आकांक्षा र योजनामा रहेका राजनीतिक दलबीचको विवाद अन्त्य गर्ने उपयुक्त समय आएको बताउँछन्। 'कार्कीविरुद्धको महाभियोग प्रस्ताव, संविधान संशोधन, निर्वाचन, संविधान कार्यान्वयनजस्ता फरकफरक माग अघि सार्दै आएका दलको माग सम्बोधन गरी द्वन्द्व अन्त्य गर्ने उपयुक्त समय आएको छ', एक राजनीतिक विश्लेषकले भने, 'विद्यमान विवाद सामूहिक समाधान गरे सबैका माग पूरा हुन्छन्।'
वैद्य माओवादी पनि कार्कीको विपक्षमा
मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि कार्कीविरुद्धको महाभियोग प्रस्तावको पक्षमा देखिएको छ। पार्टी प्रवक्ता हरिभक्त कँडेलले विज्ञप्ति जारी गर्दै पदको दुरुपयोग गर्ने व्यक्तिमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
प्रकाशित: ८ कार्तिक २०७३ ०२:५० सोमबार