९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले सबैसँग सहयोग माग्ने

मनोनयन दर्तापछि एमाले नेता सुवास नेम्वाङ।

नेकपा एमालेले राष्ट्रपति पदका उम्मेदवार पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई जिताउन नेपाली कांग्रेसबाहेक सबै पार्टीसँग पहल गर्ने भएको छ। संसद् भवनमा शनिबार नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसबाहेकका सबै पार्टीसँग एमालेले सहयोग र समर्थन माग्ने भएको हो। कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाहेबाहेक अन्य सबैसँग समर्थन माग्न लागिएको एमालेले जनाएको छ। ‘संसद्मा भएका दलहरूसँग सहयोग माग्नेछौं, त्यसका लागि पत्राचार गर्नेछौं,’ एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने। उनले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा भएकाले त्यतिबेलासम्म परिस्थिति बदलिन पनि सक्ने बताए।

नेम्वाङको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव टोपबहादुर रायमाझी, सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महासेठ, सांसदहरू जुली महतो, महेश बर्तौलालगायतको संसद् भवनमा उपस्थिति थियो।

उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले स्वार्थ र दाउपेचको उम्मेदवार नभएको बताए। पुस १० गते नै बनेको सहमतिअनुसार एमालेले उम्मेदवारी दर्ता गराएको उनको भनाइ थियो। ‘कुनै पनि चिजको एक सर्कल नै पूरा नगरी सहमति यताउता हुने कुरा छैन। सहमति उल्लंघन गर्ने कुरा हुँदैन। आफूले बोलेका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने हुन्छ। त्यसकारण पनि एमालेले उम्मेदवारी दिएको हो,’ उनले भने।

आठ दलीय गठबन्धनबारे जानकारी आफूहरूलाई नभएको पनि अध्यक्ष ओलीले बताए। ‘केही दलका साथीहरूलाई बालुवाटारमा बोलाइएको रहेछ, उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ। केही साथीको साथ रहेकै छ। पुस १० मा जे सहमति भएको छ, त्यसबाहेक अरू हामीलाई थाहा छैन,’ उनले भने। राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेपछि सुवास नेम्वाङले आफूलाई अत्यन्तै खुसी लागेको बताए। ‘उम्मेदवारी दर्तालाई लिएर म खुसी छु। पार्टीले मलाई अघि सारेको छ। सबैका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिएको छु। संविधानले दिएको जिम्मेवारी पूरा गर्नेछु। जनता र राष्ट्रलाई सर्वोपरि राख्नेछु,’ संसद् भवनबाहिर सञ्चारकर्मीसँग नेम्वाङले भने। राष्ट्रपतिमा निर्वाचित भए संविधानले दिएको जिम्मेवारी पूरा गर्ने उनले बताए। यसैबीच एमाले बैठकले तत्कालै सरकारबाट नबाहिरिने र पुस १० को सहमतिलाई पर्खिने निर्णय गरेको छ। पुस १० को सहमति कायम राख्ने र त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय गर्ने पनि एमाले प्रचार विभाग प्रमुख सुब्बाले जानकारी दिए। बैठकले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको पनि उनले बताए।

एमालेबाट प्रस्तावित नेम्वाङ को हुन् ?

इलाम जिल्लाको सुन्तलाबारीमा ११ मार्च १९५३ जन्मेका सुवास नेम्वाङ विद्यार्थी छँदा नै राजनीतिमा प्रवेश गरेका थिए। कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेवारी सम्हालिसकेका छन्। २०२९ सालमा अनेरास्ववियुमा आबद्ध नेम्वाङ विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट पार्टीसँग जोडिएर राजनीतिमा सक्रिय भएका थिए। नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पनि परेका थिए।  

उनले कानुनमा स्नातक (बिएल) गरेका छन्। संविधानसभा अध्यक्षसमेत रहिसकेका नेम्वाङ त्यसअघिको व्यवस्थापिका संसद्मा पनि सभामुख थिए। २०४८ र २०५२ सालमा उनी दुईपटक राष्ट्रिय सभा सदस्य पनि भए। २०५६ सालको संसदीय निर्वाचनपछि उनी निरन्तर इलामेली जनताको प्रतिनिधिका रूपमा विजयी हुँदै आइरहेका छन्। २०५१ सालमा एमालेको नौ महिने सरकारमा कानुन राज्यमन्त्री भए भने २०५६ मा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत रहिसकेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित भएर संविधानसभा अध्यक्ष बनेका थिए। २०५६ मा प्रतिनिधिसभा प्रवेश गरेका उनले इलामको २ बाट नेम्वाङ निरन्तर निर्वाचित हुँदै आएका छन्। हालसम्म सो क्षेत्रबाट उनी पराजित भएका छैनन्। नेम्वाङ २०६३ सालमा पुन:स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख भएका थिए।

नेम्वाङले ल फर्म पनि चलाएका थिए। उनको ल फर्म पायोनियर ल एसोसियट्समा कार्यरत रहेका भरतराज उप्रेती र वैद्यनाथ उपाध्याय न्यायाधीशमा नियुक्त भएका थिए। तर त्यसअघि नै स्वार्थ बाझिने भएकैले २०५७ मा सार्वजनिक लेखा समितिको सभापति भएपछि आफू पायोनियर ल एसोसियट्सबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका थिए। राजाले शासन सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा उनले २०६२ सालमा सर्वोच्च अदालतमा बहससमेत गरेका थिए।  

एमालेको विभिन्न तहमा रहँदै १०औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका नेम्वाङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा एमालेका तर्फबाट इलाम २ बाट ३० हजार २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ६ मत प्राप्त गरेका थिए। उनी राष्ट्रपतिमा निर्वाचित भए उक्त क्षेत्र रिक्त भई पदपूर्तिका लागि उपनिर्वाचन हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०७९ ००:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App