२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिको फोहोर सफा गर्दैछौं, नआत्तिनुहोस्: गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्।

हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे।

‘फोहोराको डंगुर ठूलो भएकोले सफा गर्ने काम गर्दैछौं। एक दुई त्यान्दो निकाल्दैमा फोहोर सफा हुने अवस्था छैन’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘नेपालको राजनीति सफा थियो भने हामी राजनीतिमा आउन जरुरी नै थिएन। तपाईँहरू हतास नहुनुहोस् हामी इमानदारीका साथ काम गरिरहेका छौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीले निष्ठा र इमानदारीपूर्वक काम गरिरहेको उनको दाबी थियो। ‘सानोतिनो घटनामा उत्तेजित हुने, बहकिने, हतास हुने र हतोत्साहित हुने काम नगरौं’, कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘कुनै काम हुने बित्तिकै उत्साहित भएर ‘जय घण्टी’ भन्ने, केही काम नहुने बित्तिकै ‘गए घण्टी’ भन्न जरुरी छैन। तपाईँहरू पनि नआत्तिनुहोस्, पार्टी र नेताहरुलाई नअत्ताउनुहोस्।’

पुराना दल धेरै घटनाक्रमको साक्षी बसेको, अनुभव बोकेको स्मरण गर्दै उनले आफ्नो पार्टीले त्यो पार गर्न बाँकी रहेको बताए। लामो समयको राजनीति नभएकोले राजनीतिक रुपमा प्रशिक्षित हुन भने बाँकी रहेको उनको स्वीकारोक्ति थियो। वर्षौँदेखि जगडिएका समस्या समाधान गर्न निरन्तर इमानदारिताका साथ लागिपरेको उनले दोहोर्‍याए।

यता प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट बाहिरिने क्रममा भने उनले मिडिया फेस गर्नै चाहेनन्। हल बाहिर रहेका पत्रकारहरुलाई इन्कार गर्दै उनले आफ्नो कुनै प्रतिक्रिया नरहेको भन्दै गाडी चढेर गएका थिए।

पत्रकारहरुले समसामयिक अवस्थाको विषयमा प्रतिक्रिया दिन अनुरोध गरेका थिए। ‘मेरो कुनै प्रतिक्रिया नै छैन’, लामिछानेले भने।

प्रकाशित: ९ जेष्ठ २०८१ १९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App