१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला

आगो लाउने चन्द्रमा!

तीन कविता

 १) आगो लाउने चन्द्रमा

ऊ केही बोलिरह्यो

तिमी उसलाई हेरिरह्यौ

तिम्रो मुहार उज्यालिएर

धपक्कै चन्द्रमा भो

हाय!

मेरो दुर्भाग्य!

त्यहीबेला तिमीलाई हेर्न पुगेछु

जलेर तत्कालै खरानी खरानी भएँ

तिमीले थाहा पाएनौ मेरी ज्यान!

यहाँ भर्खरै,

चन्द्रमाले पनि आगो लगायो।

२) परिवर्तन

हिजो आफ्नो घरमा हुँदा

मर्जीको मालिक ऊ

परदेशमा आज

मालिकको मर्जी भएको छ।

३) मन रावण

मन!

तँ किन यस्तो छस्?

एउटालाई चुप लगाउँछु

नौ ओटा गुन्गुन गर्छस् 

नौ ओटालाई चुप लगाउँछु

एउटा प्यार्-प्यार् गर्छस् 

मन!

तँ किन दस टाउके छस्?

बरु हाँकाहाँकी भन्,

म शान्त सौम्य श्री राम होइन

रावण हुँ भनेर।

प्रकाशित: ७ असार २०८१ ११:२६ शुक्रबार

The moon that brings fire! My misfortune!