वर्षको दुई दिन मात्र खुल्ने भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर इतिहासमै पहिलो पटक हरितालिका तीजको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको छ।
मन्दिर खुला भएसँगै आजै साँझ यहाँस्थित प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य महाआरती समेत आयोजना गरिँदै छ।
संस्कृति अध्येता गणेश रञ्जितकारका अनुसार तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित यो मन्दिर तीजमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएको यो पहिलो पटक हो।
तीजको व्रत बसेका श्रद्धालु महिलाहरूलाई दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले बिहानैदेखि मन्दिरको ढोका खोलिएको हो। आज दिनभर दर्शनको व्यवस्था मिलाइएको छ।
यसअघि यो मन्दिर वर्षमा दुई पटक मात्रै खुल्ने परम्परा रहेको मन्दिरका पुजारी प्रमिलराज सुवेदीले जानकारी दिए। उनका अनुसार केदारनाथको जन्मोत्सव (बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा) र महाशिवरात्रिका दिन मात्र मन्दिर खोल्ने गरिन्थ्यो। पहिलो पटक तीजमा मन्दिर खुला गरिएपछि दर्शनार्थी महिलाहरूको उल्लेख्य र बाक्लो उपस्थिति देखिएको छ।
मन्दिरभित्रै प्रवेश गरेर पूजा गर्न पाएपछि भक्तजनहरू उत्साहित छन्। स्थानीय सबिना बोहजुले पहिलो पटक मन्दिरभित्रै पुगेर दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
वि.सं. २०७२ सालको भूकम्पमा मन्दिर क्षतिग्रस्त भएपछि बाहिरबाटै महादेवको दर्शन गर्दै आएको स्मरण गर्दै उनले आज गर्भगृहमै पुगेर पूजा गर्ने दुर्लभ अवसर मिलेको सुनाइन्।
यसैबीच, हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायर परिसरमा रहेको प्रसिद्ध चारधाम क्षेत्रमा आज साँझ एकैसाथ भव्य तथा दिव्य महाआरती गरिने भएको छ।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालका अनुसार चारधाम क्षेत्रमा एकैपटक र एउटै समयमा महाआरती सञ्चालन गर्न लागिएको हो।
उच्च धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस महाआरतीमा तीजका ब्रतालु तथा दर्शनार्थीहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।
संयोजक सुवालले साँझ आयोजना हुने विशेष महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा निमन्त्रणा समेत गरेका छन्।
प्रकाशित: २९ भाद्र २०८३ १४:४८ सोमबार





