१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीका कारण सिङ्गापुर एयरलाइन्सको विमानमा भीषण ‘टर्बुलेन्स’, एक जनाको मृत्यु, ३० घाइते

लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको बोइङ ७७७ विमान आँधीको चपेटा ‘टर्बुलेन्स’ मा परेपछि एक यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

टर्बुलेन्सका कारण नियमित उडान सम्भव भएपछि विमानलाई बैङ्ककमा आपत्कालीन अवतरण गराइएको छ। विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको थियाे। सिङ्गापुर एयरलाइन्सका अनुसार  बाटोमा भीषण टर्बुलेन्सको सामना गर्नुपरेपछि विमानलाई आपत्कालीन अवतरण गराइएको हाे।

‘विमानमा कूल दुई सय ११ यात्रु र चालक दलका १८सदस्य सवार थिए। जस मध्य एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्।’ घाइतेहरूको अवस्थाबारे केही उल्लेख नगरी एयरलाइन्सले विज्ञप्ति मार्फत भनेको छ, ‘१८ जनालाई अस्पतालमा भर्ना गरिएको छ, अन्य १२ जनाको उपचार भइरहेको छ।’

एयरलाइन्सले यात्रु तथा चालक दलका सदस्यहरूले भोग्नुपरेको पीडादायी अनुभवका लागि क्षमायाचना गरेकाे छ।

विमान अन्डमान सागरमाथि मात्र पाँच मिनेटमा एक हजार आठ सय मिटर (छ हजार फिट) देखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ।

थाइल्यान्डमा वर्षा जारी रहेकाले केही भागमा आँधी आएको बेला यो घटना भएको बताइएको छ।

‘दिउँसो ३ः३५ बजे विमानस्थललाई सिङ्गापुर एयरलाइन्सको उडानबाट सङ्कटपूर्ण कल प्राप्त भयो, कलमा विमानमा यात्रु अशान्तिका कारण घाइते भएको र आपत्कालीन अवतरणका लागि अनुरोध गरिएको थियो’, सुवर्णभूमि विमानस्थलले विज्ञप्तिमा भनेको छ, ‘विमान विमानस्थलमा अवतरण भयो र सबै घाइतेको उपचारका लागि चिकित्सकीय टोली पठाइयो।’

विमानस्थलको विज्ञप्तिमा मृतक विदेशी अर्थात् गैरथाई रहेको बताइएको छ। सिङ्गापुरका यातायातमन्त्री चि होङ ट्याटले फेसबुक पोस्टमा यस घटना दुखद भएको र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०८१ २३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App