७ वैशाख २०८१ शुक्रबार
राजनीति

शक्ति राष्ट्रका प्रतिनिधि काठमाडौंमा: अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर र भारतीय विदेश सचिव क्वात्रा उच्चस्तरीय भेटघाटमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शक्ति राष्ट्रका प्रतिनिधिहरु एकपछि अर्को गर्दै काठमाडौं उत्रिनेक्रमले निरन्तरता पाएको छ। 

नयाँ निर्वाचनपछि दाहाल तेस्रो पटक सरकारको नेतृत्वमा पुगेसँगै छिमेकी तथा मित्र राष्ट्रका प्रतिनिधिहरु काठमाडौं आउनेक्रमले निरन्तरता पाएको हो। सोही क्रममा सोमबार मात्र भारतका विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। बिहान काठमाडौं आइपुगेका विदेश सचिव क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री दाहाल, परराष्ट्रमन्त्री बिमला पौड्याल राईसहित शीर्ष नेताहरुसँग भेटघाट गरेका छन्। 

बुधबार स्वदेश फर्कने उनले दुई पक्षियसहितका साथै पछिल्लो राजनीतिक अवस्थाका विषयमा विभिन्न पक्षसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा काठमाडौं आएका क्वात्रालाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले भेट दिएका छन्। त्यसक्रममा दाहालले ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षाका साथै संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

विदेश सचिवले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीकातर्फबाट भारत भ्रमणको निमन्त्रण दिने आकलन गरिएको थियो। तर, प्रधानमन्त्री निकट स्रोतले भेटका क्रममा भारत भ्रमणका लागि आधिकारीक निमन्त्रणा नदिएको दाबी गर्‍यो। ‘भ्रमणका लागि भारतीय विदेश सचिवले प्रधानमन्त्रीलाई निम्ता दिएजस्तो लाग्दैन,’ निकट स्रोतले भन्यो।

नेपाल भारत सीमा समस्यासहितका विषयमा प्रधानमन्त्री दाहालले विदेश सचिवसँग चासो राखेको स्रोतको दाबी छ। परराष्ट्रमन्त्री पौड्यालले पनि दुई पक्षियसहितका साथै भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाइ रुटबारे समेत छलफल भएको स्रोतको दाबी छ। उनले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेको देउवाले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्। 

‘जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउने छौं, हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो,’ लेखिएको छ।

सोमबार नै दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अफ्रीन अख्तर पनि काठमाडौं आइपुगेकी छन्। दुईदिन काठमाडौं बसाइको क्रममा अख्तरले उच्चस्तरीय राजनीतिकसाथै नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

अमेरिकी राजदूतावासका अनुसार उपसहायक विदेशमन्त्री अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। ‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नु हुनेछ,’ अमेरिकी दूतावासले जनाएको छ।

अख्तरपछि अर्को साता फेरि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने छिन्। यसअघि माघ २४ गते अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावर काठमाडौं आएर माघ २५ स्वदेश फर्केकी थिइन्। माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी थिइन्। 

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयु) की आयुक्त जुटा उर्पिलाइनेन पनि माघ २५ काठमाडौं आइपुगेकी थिइन्। नेपाल भ्रमणका क्रममा संयुक्त अधिराज्य (बेलायत) का रक्षामन्त्री एण्ड्र्यु मोरिसन माघ २५ गते काठमाडौं आएर उच्चस्तरीय भेटघाटसहित दुई पक्षीय भेटका विषयमा कुरा गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७९ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App