५ वैशाख २०८१ बुधबार
राजनीति

कांग्रेसले अस्थिरता ल्याउन खोज्यो: ओली

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन्। ओलीले बोल्नेक्रममा अधिकांश समय कांग्रेस र कांग्रेस नेतृत्वको अघिल्लो सरकारको आलोचनामै खर्चे।

ओलीले प्रधानमन्त्री र राष्ट्रपतिमा आफ्नोबाहेक अरूको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको कांग्रेसले सरकार गठन भइसकेपछि प्रधानमन्त्रीलाई हठात् विश्वासको मत दिएको बताए। उनले भने, ‘कांग्रेस हो, उसले सरकारलाई विश्वास गरेको मान्न सकिँदैन। मैले त्यतिबेलै भनेको थिएँ, मतदान गरेको भए त ठिकै हो तर ढोक्सा थापेको हो भने गलत हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा मार्ने प्रयास गरिन्छ, बिहान भएपछि रित्तो ढोक्सा बोक्यो, फर्कियो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा खिचलो गर्ने उसको उद्देश्य देखिन्छ।

’एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राखेको कांग्रेस आरोपको प्रतिउत्तर दिँदै ओलीले कटाक्ष गरे। उनले भने, ‘कांग्रेसलाई आफूले सडकमा पुर्‍याएको व्यक्तिलाई एमालेले प्रधानमन्त्री बनाएको चिन्ता छ।’

ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा फाइदा उठाउन कांग्रेस लागिरहेको बताए। कांग्रेसले आफू सत्तामा गए मात्रै लोकतन्त्र हुने गलत तर्क गर्दै आएको ओलीको भनाइ थियो। उनले भने, ‘कांग्रेस भनेको लोकतन्त्र हो, लोकतन्त्र भनेको कांग्रेस हो र कांग्रेस सत्तामा गएपछि सबै लोकतन्त्र भन्ने भ्रम पनि कांग्रेसका साथीहरूमा छ।’ कांग्रेसले अहिलेको सत्ता गठबन्धनभित्र खेल्न खोजेर अस्थिरता निम्ताउन खोजेको आरोप ओलीले लगाए। कांग्रेसलाई पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार गठन भएको सत्यता स्विकार्न कठिन भएको उनले बताए। ‘कांग्रेसलाई आफू प्रतिपक्षमा छु भन्ने लागेकै छैन। सत्ता नहुँदा अहिले कांग्रेस पानीबाहिरको माछाजस्तो भइरहेको छ,’ उनले भने।

कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने ओलीले बताए। अहिले कांग्रेसको हालत ‘सुनको बाला देखाउने बुढो बाघ’ जस्तै भएको टिप्पणी पनि उनले गरे। उनले बाघको कथा सुनाउँदै भने, ‘एउटा बाघ बुढो भएछ। त्यसले एउटा महिलालाई झम्टिएर मारेछ। महिलाले लगाएको सुनको बाला बाघले राखेछ। बाघले गुफाबाट बाला देखाएर भन्दोरहेछ-ए नानी यो बाला लैजाऊ न, मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त। कोही नजिक गएर फ्याँकिदेऊ भन्यो भने हातैबाट दिन मन छ भन्दोरहेछ। नजिकै गएपछि झ्याप्प पार्ने रहेछ। साथीहरू (कांग्रेस सांसदतर्फ हेर्दै) पनि बाला  देखाइरहनुभएको छ।’

पुस १० गतेसम्म निषेधको राजनीति गरेको कांग्रेसले प्रतिपक्षमा पुगेपछि मात्र सहमतिको कुरा गर्न थालेको ओलीले बताए। ‘पुस १० गतेसम्मको निषेधको राजनीति अहिले फ्याट्ट उत्तानो परेर सहमतीय राजनीति भएको छ। तर उहाँहरू देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, संक्रमणकालीन न्याय लगायतलाई टुंगोमा पुर्‍याउने विषयमा भने सहमति गर्न तयार हुनुहुन्न,’ ओलीले भने।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले देशको अर्थतन्त्र तहसनहस बनाएको आरोप पनि लगाए। अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार भएकाले यसलाई तलमाथि गर्न नहुने ओलीले बताए। उनले भने, ‘यो सरकारभन्दा राम्रो गर्ने अर्को कुनै वैकल्पिक शक्ति छैन।’

प्रकाशित: २३ माघ २०७९ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App