२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

सञ्जय यादवले बज्जिका भाषामा लिए शपथ

सर्लाहीबाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित सञ्जय यादवले मातृभाषा बज्जिकामा शपथ लिएका छन्।

शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीसंग शपथ लिँदा यादवले मातृभाषा बज्जिकामा शपथ लिएका हुन्।

नेपालमा बज्जिका भाषालाई प्रतिनिधिसभामा २०६४ मा कृष्णप्रसाद यादवले प्रवेश गराएका हुन्। मधेश प्रदेशसभामा २०७४ मा सर्लाहीकै साँसद उपेन्द्र कुशवाहाले पहिलोचोटि शपथ लिएका थिए। २०७९ मा मधेश प्रदेशको प्रदेशसभामा शपथ लिने सम्पूर्ण साँसदमा मातृभाषातर्फ बज्जिका सबैभन्दा ठूलो मातृभाषा हुन गएको छ। मधेश प्रदेशका साँसदहरुमा बज्जिका १३, मैथिली ११ र भोजपुरीमा ७ जनाले शपथ लिएका छन्।

बज्जिका भाषाको इतिहासमा अहिलेसम्म कुनै पनि मन्त्रीले शपथ नलिएको अवस्थामा माननीय सञ्जय यादवले मधेश प्रदेशको मन्त्री पदको शपथ बज्जिकामा लिनु ऐतिहासिक उपलब्धि भएको बज्जिका भाषाका व्याकरणकार तथा नेपालमा बज्जिका भाषाका प्रथम साहित्यकार सञ्जय साह मित्रको भनाइ छ।

मन्त्री पदको शपथपछि मन्त्री यादवले मधेश आन्दोलनमा आफूहरुले आफ्नो शासन, आफ्नो प्रशासन र आफ्नो भाषा खोजेको बताउँदै आफ्नो पहिचानको लागि मातृभाषामा शपथ लिएको प्रतिक्रिया दिए। हाल विना विभागीय मन्त्री रहेका यादवले प्रदेश सरकार र स्थानीय सरकारले मातृभाषामा कामकाज गर्नुपर्ने र मातृभाषामा नै शिक्षा दिइनुपर्ने पनि बताएका छन्।

भाषा आयोगले मधेश प्रदेशको लागि नेपालीका साथै मैथिली, भोजपुरी र बज्जिका भाषालाई मधेश प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग र प्रचलनमा ल्याउन सिफारिश गरिसकेको छ।

पहिलोचोटि बज्जिका भाषामा मन्त्रीले शपथ लिएपछि सर्लाही र रौतहटका बज्जिका भाषाका अभियन्ता, साहित्यकार तथा पत्रकारहरुले खुसी व्यक्त गरेका छन्।

सर्लाहीका बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहाले खुसी व्यक्त गर्दै बज्जिका भाषाको इतिहासमा ऐतिहासिक उपलब्धिको दिन भएको बताए।  

प्रकाशित: २९ पुस २०७९ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App