प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका हुन्।
आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, 'मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिए। त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो। यसले मलाई ऊर्जा दिएको छ।'
प्रधानमन्त्री दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, 'मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ।'
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो।
प्रकाशित: २६ पुस २०७९ १५:३६ मंगलबार





